दमक/ झापाको दमक ८ स्थित त्रिगंगा कृषी सहकारी संस्थाका अध्यक्ष राजेन्द्र खनाल ८० लाख रुपैया बढी रकम लिएर तीन महिना अघिदेखि फरार रहेका खुलासा भएको छ ।
दमक ८ निवासी ५२ बर्षिय खनाल गत मसिंरदेखिनै फरार भएका जनाइएको छ । उनी गत मसिंर २९ गते सम्ममा कार्यालय आइपुग्छु भन्ने जानकारी रहेकोमा सो दिन सम्ममा पनि कार्यालय नआएपछि संस्थामा कार्यरत व्यवस्थापक ललिता तामाङसहित कर्मचारीहरुको समुहले सो बारे दमक नगरपालिकाको सहकारी समन्वय शाखामा २९ गते नै लिखित रुपमा जानकारी गराएका देखिन्छ ।
सो लगत्तै सहकारीमा बचत रकम जम्मा गर्दै आएका दमक नगरपालिका र कमल गाउपालिकाका ७ जना बढी सदस्यहरुले १ पुषमा दमक नगरपालिकामा अध्यक्ष खनाल विरुद्ध निवेदन दिएका थिए । अहिले सम्म सो बारेमा नगरपालिका र स्थानीय प्रशासनले सो बिषयमा पहलकदमी नचालेको भन्दै पीडितहरुको समुहले एकाएक घटना बाहिर ल्याएको हो ।सामाजिक सञ्जाल मार्फत पीडितहरुले न्यायका लागि अपिल गरेका छन । पीडित मध्येका एक जनाले निष्कर्ष न्यूजसंगको कुराकानीमा भने– पहिला मेरैदेखि सामानहरु लान्थे, त्यही पैसा बचत पनि गरियो, चिनजानका आधारमा कारोबार गरियो अहिले ठुलो धोका भयो । उनले पीडितहरुको समुहलाई खनालले खराब नियत राखेर फसाएको पनि आरोप लगाए ।
