दमक/ दमक ९ स्थित निम्स नेशनल हस्पिटलले आज ( मंगलबार)देखि अस्पतालको सेवालाई थप विस्तार गर्दै सिटी स्क्यान सेवा प्रदान गर्न शुरु गरेको छ । अस्पतालले महाशिवरात्रीको अवसर पारेर बिरामीहरुको सुबिधालाइ मध्यनजर गर्दै सो सेवा शुरु गरेको हो । अस्पतालका अध्यक्ष उमाकान्त आचार्यको अध्यक्षतामा विशेष कार्यक्रम गरी शुरु गरिएको सिटी स्क्यान सेवाको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले उदघाटन गरेकी छिन ।

सो अवसरमा उपप्रमुख अधिकारीले अस्पतालहरुले दिने सेवा गुणस्तरीय , विश्वसनियसंगै सरल र सुलभ किसिमको हुुनुपर्नेमा जोड दिइन । दमक अस्पताल सञ्चालक समिति अध्यक्ष समेत रहेकी उपप्रमुख अधिकारीले स्वास्थ्य बीमाको कार्यक्रम लागू गरिएको अस्पतालहरुमा उपलब्ध सेवाका आधारमा दमक अस्पतालले बिरामीहरुलाई रेफर दिने गरेको स्पष्ट पारिन । दमक अस्पतालले विभिन्न किसिमका स्वास्थ्य सेवाहरु प्रदान गर्ने सिलसिलामा सिटी स्क्यान सेवाका लागि स्वास्थ्य बीमा कार्यक्रम चालू रहेका अस्पतालहरुमा नै बिरामी रेफर गर्नुपर्ने व्यवस्था रहेको पनि जानकारी गराइन । उनका अनुसार दमक अस्पतालमा सो सेवा नहुँदा बीमा कार्यक्रमबाट लाभ लिनुपर्ने बिरामीहरुलाई दमक बाहिर (अन्यत्र) रेफर गर्नुपर्ने बाध्यता रहेकोमा निम्स अस्पतालले सो सेवा दिन शुरु गरेसंगै अब त्यो बाध्यता हटेको छ ।
दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले दमकमा रहेका अस्पतालहरुले एकीकृत रुपमा स्तरीय उपचार सेवा दिनु उपयुक्त हुने भन्दै त्यसका लागि वाणिज्य संघ समन्वय गर्न तयार रहेको बताए ।
सो अवसरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ड नविन कुमार सिंहले अस्पतालले २४ सै घण्टा इमर्जेन्सी सेवासंगै भिडियो एक्सरेको सेवा सञ्चालन गर्ने बताए । हाल २५ बेड क्षमताको सो अस्पताललाई ५० बेड क्षमताको अस्पतालका रुपमा बिकास गर्ने प्रकृया अन्तिम चरणमा रहेको सिंहले जानकारी दिए । उनले विभिन्न किसिमका विशेषज्ञ चिकित्सकहरुबाट नियमित ओपिडी, सर्जन सेवाहरु समेत प्रदान गर्दै आएको जनाएका छन । सो अवसरमा आम्दा अस्पतालका पूर्व मेडिकल सुपरिटेण्डेन्ड डा. नविन ढकालले सिटी स्क्यान सेवाको अभाव खडकिएको लामो समयपछि चालू एक महिना भित्रै दमकमा दुई वटा अस्पतालले सो सेवा प्रदान गर्न शुरु गरेकोमा खुशी व्यक्त गरे । सोही अवसरमा निम्स अस्पतालका संस्थापक अध्यक्ष बलभद्र कोइरालाले सेवालाई थप विस्तार गर्ने सिलसिलामा छिट्टै एमआरआई सेवा समेत ल्याउन सुझाव दिए । अस्पतालकी उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा वडाध्यक्ष रामबहादुर धिमाल, अस्पतालका सचिव रोशन विष्ट, कोषाध्यक्ष रमा लिम्बु , लायन्स क्लब इन्टरनेशनल ३२५ एवानका डिस्ट्रिक ट्रेजरर बबरजंग थापा, दमक बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्व अध्यक्ष सुरेश सुब्बा, अस्पतालका सञ्चालकहरु, स्थानीय सामाजिक अगुवाहरु लगायत , चिकित्सक, कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।
सरकारले व्यवस्था गरेको १० प्रतिशत आरक्षित निशुल्क सेवालाई पनि अस्पतालले निरन्तरता दिदैं आएको अस्पतालका मार्केटिङ विभाग प्रमुख गणेश प्रधानले जानकारी दिए । हस्पिटलले बिभिन्न सामाजिक संस्थाहरुको आग्रह र आह्वानमा ग्रामिण क्षेत्र सम्म पुगेर पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको अस्पतालकी कोषाध्यक्ष रमा लिम्बुले जानकारी दिइन ।
हस्पिटलले सेवालाई थप स्तरीय बिस्तार बनाउन दिर्घकालिन योजनासहित अघि बढेको अस्पतालकी उपाध्यक्ष मन्धरा चिमरिया पौडेलले जानकारी दिइन । उनले बिरामी र कुरुवाको सहजताका लागि लिफ्ट सेवा सञ्चालनमा रहेको पनि जानकारी दिइन ।


