काठमाडौं/मोरङको रतुवामाइकी एक महिलासहित दुई जना विरुद्ध क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डौमा मुद्दा दायर भएको छ । रतुवामाईका पुस्कर श्रेष्ठ र रतुवामाईकै विनिता लिम्बुविरुद्ध नौ करोड ७४ लाख ६९ हजार नौ सय ८३ रुपैयाँ जरिबाना माग गरेर मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
उनीहरु विरुद्ध क्रिप्टोकरेन्सीका विभिन्न माध्यमहरू बाइनान्स, एडीभी क्यास, क्वाइन बेस, पाक्सफुल लगायतका एपमार्फत नेपाल सरकारले गैरकानुनी मानेका क्रियाकलाप र कारोबार गरेको आरोप छ । क्रिप्टोमा लगानी गर्ने क्रममा पुस्कर श्रेष्ठले मेगा बैंकबाट ८६ लाख ८३ हजार, सिटिजन्स बैंकबाट दुई करोड ५१ लाख, एनआईसी एसिया बैंकबाट एक करोड ८२ लाख, राष्ट्रिय वाणिज्य बैंकबाट दुई करोड ३६ लाख गरी सात करोड ५७ लाख र विनिता लिम्बुले एनआईसी एसियाबाट दुई करोड १६ लाख रुपैयाँ बराबरको अनलाइनमार्फत अवैध रूपमा अमेरिकी डलरको कारोबार गरेको विभागले जनाएको छ । उनीहरूविरुद्ध विदेशी विनिमय नियमन गर्ने ऐनअनुसारको कारबाही माग गरेर मुद्दा दर्ता भएको विभागको भनाइ छ ।
सरकारले नेपालमा क्रिप्टोकरेन्सी र कुनै पनि किसिमका डिजिटल मुद्रालाई कानुनी मान्यता दिएको छैन । नेपाल राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, नेपाल प्रहरी लगायतकाले क्रिप्टोमा लगानी नगर्न पटक–पटक सूचना निकालेर सचेत गराउँदै आएका छन् ।

Facebook Comments Box