दमक/ महिलामाथिको हिंसा अन्त्य तथा वातावरण सम्बन्धी सचेतनाको मुल उद्धेश्यसहित आसामबाट एक जना नेपाली भाषी युवा साइकल यात्रा गर्दै झापाको दमक आइपुगेका छन । भारतको आसाम राज्यमा पर्ने गुहाटी शहर नजिकै पर्ने नेपाली बस्ती खेत्रीका २० बर्षिय साईकलयात्री पवन शर्मा लुईटेल सो यात्राका क्रममा दमक आईपुगेका हुन् । उनलाई दमकमा नेपाल भारत मैत्री संघले आज (शुक्रबार ) संक्षिप्त कार्यक्रम गरी स्वागत सम्मान गरेको छ । आसामबाट शुरु गरेको साईकलयात्राको ९ औं दिनमा विहिबार साँझ दमक आइपुगेका उनी शुक्रबार बिहान दमकबाट पश्चिम तर्फ लागेका छन ।
उनलाई नेपाल –भारत मैत्री संघ दमक शाखाले यात्राको सफलताको शुभकामना दिदै ढाकाटोपी र खादा लगाएर सम्मान गरेको हो । संघका दमक शाखा उपसभापति दिनेश अग्रवालसहितको समुहले उनलाई शुभकामनासहित बिदाई गरेका छन ।
साइकल यात्री लुईटेलले यात्राको अनुभव सुनाएका थिए । भारतमा भने उनलाई स्थानीय केहि संघसंस्थाले सहयोग पुरयाँएका थिए । नेपालमा पहिलोपटक आएका उनले अव बढीमा १० दिन भित्र नेपालको काठमाडौं सम्मको यात्रा सफलता पूर्वक सम्पन्न गर्ने लक्ष्य रहेको बताए । १९ दिन लगाएर आफनो करिव ९ सय ७६ किलोमिटर यात्रा टुङग्याँउने बताउदै उनले भने, –‘ सवैको सहयोगबाट नै मैले यो यात्रालाई अघि बढाउने छु भारतमा जस्तै नेपालमा पनि नेपालीहरुबाट सकारात्मक सहयोगको अपेक्षा गरेको छु । ’
साईकलबाट यसरीनै भारतको आसाम घुमिसकेका उनले अव अल इन्डिया हुदै विश्वयात्रासम्म निस्कने लक्ष्य राखेको बताए । सामान्य साईकलमार्फत दैनिक एक सय किलोमिटर दुरी यात्रा गरिआएका उनले बाटोमा आफनो यात्राको उद्देश्य पनि सुनाउदै आएका बताए । गन्तव्यमा पुग्नु मात्र आफनो उद्देश्य नभएको बताउदै उनले महिला हिंसा नियन्त्रण गर्न तथा स्वच्छ पर्यावारण जोगाउन आफनो मुख्य उद्देश्य भएको उनको भनाई छ । उनी अहिले सम्म यस किसिमको लामो साइकल यात्रामा निस्किने सबैभन्दा कान्छो उमेरको साइकल यात्री हुन सक्ने अनुमान गरिएको छ ।


