दमक/ झापाको कमल ७ स्थित लालधन्द्रमा कृषि ज्ञान केन्द्र, झापा र कमल गाउँपालिकाको संयुक्त आयोजनामा धान रोप्ने चार पाङग्रे मेसिनको प्रयोग प्रदर्शनीसहित १९ औं राष्ट्रिय धान दिवस मनाइएको छ ।

लखनपुर साना किसान कृषि सहकारी संस्थाको व्यवस्थापनमा १९औ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित सो कार्यक्रममा प्रदेश नं १ का कृषि मन्त्री झलकसिंह दर्लामीको प्रमुख आतिथ्य रहेको थियो । कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राईको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश न १ , कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सेनाको विशेष आतिथ्य रहेको थियो । विभिन्न सरोकारवाला तथा किसानहरुको उपस्थितिमा भएको सो कार्यक्रममा चार पाङ्ग्रे धान रोप्ने मेसिनको प्रयोग प्रदर्शन मुख्य आकर्षण बनेको थियो । सो मेसिन प्रदेश सरकारको सशर्त अनुदानमा गाउँपालिका मार्फत लखनपुर साना किसान कृषि सहकारी संस्थालाई उपलब्ध गराएको गाउँपालिकाको कृषि शाखाका प्राविधिक प्रेम पोखरेलले जानकारी दिए ।
यस्तो छ नेपालमा धान उत्पादनको तथ्याङक
नोपलमा आ.व. २०७७/०७८ मा ५६ लाख २१ हजार ७ सय १० मेट्रिक टन धान उत्पादन भएकोमा आ.व. २०७८/०७९ मा ५१ लाख ३० हजार मेट्रिक टन मात्र धान उत्पादन भएको देखिन्छ । यो तथ्याङ्कअनुसार आ.ब.२०७७/०७८ र २०७८/०७९ एक वर्षमा ४ लाख ९१ हजार ८५ मेट्रिक टन धान उत्पादनमा गिरावट आएको देखिन्छ । नेपालीको प्रमुख खाद्यन्नका रुपमा रहेको धानमा समेत नेपाल पर निर्भरतातर्फ ढल्केको देखिन्छ । २०६१ देखि सरकारी निर्णय पश्चात् नियमित रूपमा नेपालमा राष्ट्रिय धान दिवस विविध नाराका साथ मनाइँदै आएको छ ।


