झापा/ कृषिमा उत्पादकत्व बढाउने नाममा रासायनिक मल र बिषादीको बढ्दो प्रयोगलाइ न्यूनिकरण गर्दै सम्पूर्ण किसानहरुलाइ प्राङ्गारिक कृषितर्फ उन्मुख गर्ने उदेश्यले झापाका प्राङ्गारिक कृषि ब्यवसायी तथा कृषि अभियान्ताहरुले “प्राङ्गारिक कृषि प्रवर्धन नेपाल” नामक गैहृ सरकारी संस्था स्थापना गरेका छन् ।
रासायनिक मल र बिषादीको बढ्दो प्रयोगले मानव स्वास्थ्य, वातावरण र सिङ्गो पारिस्थितिक पद्घतिमा पारेको प्रतिकुल प्रभाव र दीर्घकालमा निम्त्याउन सक्ने भयाबह अवस्थाबारे सम्पूर्ण सरोकारवालाहरुलाइ सचेत गराउँदै प्राङ्गारिक उत्पादनको वर्तमान अवस्था, महत्व, आवश्यकता, अनिवार्यता र संभाब्यताबारे जागरुकता फैलाउने संस्थाको प्रमुख लक्ष्य रहेको छ ।
संस्थाले प्राङ्गारिक कृषिका साथसाथै प्राङ्गारिक पशुपंछी तथा मत्स्यपालन, जैविक मलको उत्पादन तथा प्रयोग देखि प्राङ्गारिक प्रमाणिकरण सम्मका बिषयमा सरोकारवालाहरुबीच सहकार्य, समन्वय तथा सहजीकरण गर्नेछ । प्राङ्गारिक कृषि अभियान्ता सोमराज तामाङ्गको अध्यक्षता रहेको संस्थाले असल कृषि अभ्यास (न्ययम ब्नचष्अगतिगचभ एचबअतष्अभ)मा जोड दिनेछ साथै नेपालमा बर्सेनी आयात हुने १२ अर्ब भन्दा बढीको रासायनिक मल र ५ अर्ब भन्दा बढीको रासायनिक बिषादीलाइ स्थानिय स्तरमै तयार गर्न सकिने जैविक मल तथा बिषादीले प्रतिस्थापन गर्न संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।
कृषिलाइ सम्मानित पेशाको रुपमा स्थापित गर्दै युवाहरुलाइ ब्यवसायिक प्राङ्गारिक कृषितर्फ आकर्षित गरी आफ्नो पेशाप्रति गर्व गर्नसक्ने वातावरण बनाउन संस्थाले शुरुवातीमै झापा तथा आसपासका जिल्लाहरुका सम्पूर्ण वडा र पालिकाहरुमा कृषि जागरण अभियान संचालन गर्ने संस्थाका सचिव सुजन आचार्यले जानकारी दिए ।
