गौरीगञ्ज/ राजवंशी समाज विकास समिति गौरीगञ्ज गाउँपालिकाको नेतृत्व चयन भएको छ । समितिको अध्यक्षमा गोपाल प्रसाद राजवंशी निर्वाचित भएका छन् ।
निर्वाचनमा वडा वडाबाट चुनिएका प्रतिनिधिहरुले नेतृत्वका लागि उम्मेदवारी दिएका थिए । अध्यक्षमा निर्वाचित गोपाल प्रसाद २५ मतले अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदका अर्का प्रत्यासी प्रमोद कुमार राजवंशीले ४ मत ल्याएका थिए । त्यसैगरि महिला उपाध्यक्षमा जसना राजवंशी निर्वाचित भएकी छन् । उनले १८ मत प्राप्त गरेका थिए भने उनका प्रतिद्वन्दी रूकमणी राजवंशीले १० मत ल्याएकी छिन ।
राजवंशी समाज विकास समिति गौरीगञ्जको पहिलो अधिवेशनको खुल्ला सत्र औपचारिक रूपमा आईतवार सम्पन्न भएको थियो भने आज सोमवार निर्वाचन कार्यक्रम भएको थियो ।
पुरूष उपाध्यक्षमा गंगा राजवंशी, सचिवमा तिलक राजवंशी, कोषाध्यक्षमा मेनुका राजवंशी, सहसचिवमा श्यामवती राजवंशी र सदस्यहरु सर्वसम्मत भईसकेकाको निर्वाचन समितिका संयोजक बरूण कुमार राजवंशीले जानकारी दिए । समितिमा १५ जना रहने छन् भने २ जना मनोनित हुनेछन् ।
गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा राजवंशी समाज विकास समिति केन्द्रीय सल्लाहकार देवीप्रसाद राजवंशीको सभापतित्व रहेको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष दिनेश राजवंशी, सचिव मुनिलाल राजवंशी, देवेन्द्र राजवंशी, नौताली राजवंशी, गोपाल राजवंशी, प्रमोद कुमार राजवंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन तिलक राजवंशीले गरेका थिए ।

