दमक / शुक्रबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा दमकमा बृहत भक्तजनहरुको माझ भगवान श्रीकृष्णको प्रकट गराइएको छ ।
धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार भाद्र कृष्णअष्टमीका दिन मध्यरातको १२ बजे भगवान श्रीकृष्णको जन्म भएको विश्वास गर्दै श्रीकृष्ण भगवानका भक्तहरुले श्रीकृष्ण प्रकट गराएका हुन । दमक बजारस्थित राधाकृष्ण मन्दिर परिसरमा साँझदेखिनै भेला भएका भक्तजनहरुको उल्लेखीय उपस्थितीमा श्रीकृष्णको भजन किर्तन र स्तुतीहरु गाउँदै श्रीकृष्ण जन्मोत्सव मनाइएको हो ।
सो अवसरमा श्याम परिवार र राधाकृष्ण किर्तन मण्डलीले कृष्ण भगवानको नाममा भजन किर्तनहरु र उनको महिमा वर्णन गरेका थिए । बर्षेनी सो मन्दिरमा कृष्ण जन्मोत्सव भव्य बनाउन उल्लेखीय योगदान दिई आएको भन्दै श्याम परिवारको उच्च प्रशंसा गरिएको थियो ।
सो अवसरमा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका रामाशिष साह, श्याम परिवारका सुनिल अग्रवाल, श्रीकृष्ण रथयात्रा समितिका कृष्ण अधिकारी, रथयात्रा व्यवस्थापनमा सहयोग पुरयाउँदै आएको दमक युथ क्लबका पारसमणी आचार्य लगायतको सक्रियतामा श्रीकृष्ण जन्मोत्सव मनाइएको हो । दमकमा रोहित आचार्यको अध्यक्षतामा गठन भएको श्रीकृष्णरथ यात्रा समितिले शनिबार (आज) दिउँसो २ बजे राधाकृष्ण मन्दिरबाट दमकबासीलाई एकताको शुत्रमा बाँध्दै बृहत दमक श्रीकृष्ण रथ यात्रा निकाल्ने तयारी रहेको आयोजक समितिले जनाएको छ ।




