दमक/ दमक ८ स्थित कञ्चनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाको २३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साता अघिदेखि संस्थाका सदस्यहरुलाई बार्षिक प्रतिवेदन वितरण गरेको सो सहकारी संस्थाले गत भाद्र २५ सम्ममा सुझावहरु लिएर आज बिहिबार औपचारिक कार्यक्रम गरी समापन गरेको हो ।
राष्टिय सहकारी बैंक लिमिटेडका लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मी उप्रेतीको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहकारी अभियान्ताहरुले सहकारी संस्थाहरुलाई संरक्षण गर्ने अभिभावकको अभाव भएको बताए । उनीहरुले सहकारी अभियानमाथि नियोजित प्रहार भइरहेकोले यसका विरुद्ध सहकारीहरुबीचको अस्वस्थ्य प्रतिस्पर्धालाई हटाएर एकजुट हुन आवश्यक रहेकोमा पनि जोड दिए ।


अभियान्ताहरुले सहकारीका क्षेत्रमा रहेका गलत प्रवृत्तीको संरक्षण सहकारी विभागबाटै हुने गरेको आरोप पनि लगाए । संस्थाका सदस्यहरु सचेत भएर कारोबारका लागि आआफनो सहकारी संस्थामै केन्द्रित हुन पनि आवश्यक रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा प्रमुख अतिथी उप्रेती, जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष तुलाराम न्यौपाने, मेची बहुउद्धेश्यीय सहकारीका अध्यक्ष तथा जिल्ला सहकारी संघका सञ्चालक सदस्य नारायण भटटराई, राष्टिय सहकारी बैंक दमककी प्रमुख मुना केसी तथा दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल, कञ्चनजंघा सहकारीका सल्लाहकार संयोजक होमबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए । सो अवसरमा संस्थाका अध्यक्ष भण्डारीले संस्थाको बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाको ७४ करोडको वासलात प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कारोबारी र बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको व्यवस्थापक निलकण्ठ निरौलाले जानकारी दिए ।

Facebook Comments Box