दमक/ सुदर्शन बचत तथा ऋण सहकारी संस्था उर्लाबारीले १२ औं बार्षिक साधारण सभा अन्तर्गत दमक सेवा केन्द्रमा आज (बिहिबार) साधारण सभा गरेको छ । इकागत रुपमा संस्थाको बार्षिक साधारण सभा गरिरहेको सो संस्थाले गत मंगलबार पथरीशनिश्चरेस्थित पथरी बजार सेवा केन्द्र र बुधबार मधुमल्ला सेवा केन्द्रमा साधारण सभा गरेको थियो । दमकमा आयोजित संक्षिप्त कार्यक्रमकाबीच संस्थाका अध्यक्ष गोपाल भटटराई र कार्यकारी प्रमुख थरेन्द्रराज पौडेलले शेयर सदस्यहरुलाई प्रतिवेदन हस्तान्तरण गरेर साधारण सभा शुरु भएको संकेत गरेका थिए । संस्थाको सेवा केन्द्र अन्तर्गतका सदस्यहरुले सो केन्द्रबाट प्रतिवेदन बुझेर राय सुझावहरु पेश गरेका बताइएको छ । संस्थाको मुख्य कार्यालयमा समेत सदस्यहरुले प्रतिवेदन बुझेर लिखित तथा मौखिक रुपमा सुझावहरु राखिरहेका कार्यकारी प्रमुख पौडेलले बताए । सो संस्थाले शुक्रबार उर्लाबारीस्थित उद्योग वाणिज्य संघको सभा कक्षमा उत्कृष्ट शेयर सदस्य, विभिन्न विधाका उत्कृष्ट बचतकर्ताहरु र सहकारी क्षेत्रमा कलम चलाएर योगदान दिने विभिन्न सेवा केन्द्र अन्तर्गतको क्षेत्रमा क्रियाशील तीन जना पत्रकारहरुलाई पुरस्कृत गर्दै सभा समापन गर्ने जनाइएको छ ।
सो संस्थामा गत आर्थिक बर्ष सम्ममा कूल ९ हजार ५ सय ८८ जना शेयर सदस्य पुगेका र कूल ५ करोड ७७ लाख रुपैयाँ शेयर पुँजी रहेको वितरित बार्षिक प्रतिवेदनमा उल्लेख छ । त्यसैगरी संस्थाले सोही अवधिमा संस्थाले विभिन्न शीर्षकमा सरकारलाई ३ लाख ५३ हजार २९४ रुपैयाँ कर तिरेको जनाइएको छ ।
संस्थाले शेयर सदस्यहरुलाई लक्षित गर्दै ल्याएका शेयर सदस्य कल्याणकारी योजना अन्तर्गत सन्तान प्राप्ती खुशीयालीमा एक हजार, प्राकृतिक प्रकोप राहत योजनामा प्रकोपमा परि घरबारबिहिन भएका सदस्यलाई २० हजार, बिरामी भई शल्यक्रिया गर्नुपर्ने सदस्यलाई शल्यक्रिया राहत योजनामा ७ हजार, अंगभंग राहत योजनामा सदस्यलाई २ लाख सम्म, स्वास्थ्य सुधार राहत योजना एक लाख, छात्रवृत्ती योजनामा १० हजार, मृतक राहत कोषमा ४५ हजार रुपैयाँ प्रदान गरिने कार्यक्रमहरु ल्याएको संस्थाका अध्यक्ष भटटराईले जानकारी दिए ।

Facebook Comments Box