काठमाडौं /भारतबाट एकतर्फी रुपमा निर्माण गरिएको बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्ष निकालेको छ । संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले देशका विभिन्न गएको बाढी, पहिरो र डुबानको स्थलगत अनुगमन भ्रमण गरी तयार पारेको प्रतिवेदनमा भारतद्वारा निर्मित बाँधका कारण तराई क्षेत्रमा डुबान भएको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो ।

प्रतिवेदनमा चुरेमा भएको जथाभावी दोहन र विनाशका कारण पनि तराईका जिल्लाहरु डुबानमा पर्ने गरेको उल्लेख गरिएको समितिकी उपसचिव बबिता मिश्रले जानकारी दिइन् ।प्रतिवेदनले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल उचित राहतको व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिन सिफारिस गरेको छ ।

त्यसैगरी क्षति भएका घरजग्गा तथा सम्पत्तिको वस्तुगत र यथार्थ विवरण तयार गरी उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिनुपर्ने सुझाव पनि प्रतिवदेनमा उल्लेख गरिएको समितिकी उपसचिव मिश्रले बताइन् । प्रतिवेदनमा अझै पनि बाढी, पहिरो र डुबानको समस्या रहेको उल्लेख गर्दै त्यसका लागि उद्धार टोलीको उचित व्यवस्था गर्न पनि सरकारलाई निर्देशन दिनुपर्ने भनिएको छ ।

संसदीय समितिले प्रभावित जिल्लाहरुमा पुगेर तयार पारेको सो स्थलगत अध्ययन प्रतिवेदनमा तराईको डुबान समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग उच्च स्तरीय कूटनीतिक पहल गर्न पनि सरकारलाई सचेत गराउनुपर्ने निष्कर्ष निकालिएको छ । समितिमा पेश गरिएको सो स्थलगत अध्ययन प्रतिवेदन अध्ययन गरी समितिका सदस्यहरुले थप सुझाव दिएपछि सरकारलाई सो सम्बन्धमा आवश्यक निर्देशन दिने समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन् ।
समितिले बाढी, पहिरो र डुबानबाट पीडितलाई तत्काल राहतको उचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो ।

Facebook Comments Box