गौरीगञ्ज/प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिकामा १ हजार ३ सय ५० जना वेरोजगार व्यक्तिले रोजगारीको लागि आवेदन गरेका छन् ।
चैत पहिलो साताबाट खुल्ला गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत वेरोजगार व्यक्तिहरूको आवेदन फारम भर्नेको यो संख्या भने चैत मसान्त सम्मको हो । कार्यालयले १ महिना थप म्याद गरेपछि थप बेरोजगारहरुले आवेदन दिने क्रम चलिरहेको छ ।
चैत मसान्त सम्मको तथ्याङकलाई हेर्दा वडा नं २ बाट सबैभन्दा धेरै आवेदन परेको छ । सो वडाबाट ५३४ जनाले बेरोजगार फारम भरेका छन् । वडा नं १ मा ११३ जना, ३ मा २५०, ४ मा १६३, ५ र ६ मा १४२÷१४२ जनाले आवेदन दिएका गौरीगंज गाउँपालिकाकी रोजगार संयोजक बेगम राईले बताईन् ।
सरकारको वेरोजगार व्यक्तिहरूलाई न्यूनतम ९० दिन बराबरको रोजगारी दिने नीति अनुरूप देशभरका स्थानीय तहमा कार्यालय स्थापना गरी आवेदन लिईरहेको छ । आफुले सिकेको सीप अनुसार आफुले काम गर्न चाहेको क्षेत्र फारममा भरी आवेदकले आवेदन दिन सक्ने जनाइएको छ ।