झापा/आज जेठ १५ । २३८ बर्ष पुरानो संबैधानिक राजतन्त्र अन्त्य भई मुलुकमा संघीय गणतन्त्र स्थापना भएको ऐतिहासिक दिन ।

२०६५ साल जेठ १५ अर्थात आजैको दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको थियो । माओवादी सशस्त्र विद्रोह , बृहत शान्ति सम्झौता र त्यसैको जगमा टेकेर भएको जनआन्दोलन २०६२÷०६३ बलले तत्कालिन राजा ज्ञानेन्द्र साहलाई घुँडा मात्रै टेकाएन नेपालको इतिहासमा रहेको राजतन्त्रात्मक शासन व्यवस्थाको र्नै विधिवत रुपमा अन्त्य गरायो ।

२०६४ साल चैत्रमा भएको ऐतिहासिक संविधान सभा निर्वाचनबाट गठन भएको संविधानसभाको पहिलो बैठकले आजैको दिन नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । यहि ऐतिहासिक दिनलाई गणतन्त्रप्रेमीहरुले उत्साहपूर्वक गणतन्त्र दिवसका रुपमा मनाउँछन भने राजतन्त्र पक्षधरहरुले आजको दिनलाई कालो दिनका रुपमा मनाउँछन् ।

नेपालको संविधानमानै संबैधानिक राजतन्त्रको अन्त्य गर्दै संबैधानिक संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल लेखिएसंगै सरकारी तवरबाटै गणतन्त्र दिवसलाई विशेष महत्वका साथ मनाउने गरिन्छ भने गणतन्त्रका अभियान्ता, गणतन्त्रका लागि बलिदानी दिने सहिद तथा वेपत्ता परिवारजनको योगदानको चर्चा पनि यस दिनमा गर्ने गरिन्छ । गणतन्त्र दिवसको दिन २०६५ सालयता बर्षेनी सार्वजनिक विदा दिइँदै आएको भएपनि गत बर्षदेखि सरकारले धेरै सार्वजनिक विदा कटौतीका क्रममा गणतन्त्र दिवसमा विदा नदिई आआफ्नो ठाउँबाट उल्लासका साथ मनाउने कार्यक्रम तय गर्न सरकारी निकायहरुलाई सर्कुलर गरि आएको छ ।

सरकारले अघिल्ला वर्षहरुजस्तै यस वर्ष पनि काठमाडौंको टुँडिखेलमा औपचारिक समारोह आयोजना गरेको छ । टुँडिखेलमा बिहान ८ बजे आयोजना गरिएको कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री लगायतका विशिष्ट व्यक्तिहरुको सहभागीता रहने छ ।
यसैगरी बुधबार साँझ ६ बजे राष्ट्रपतिबाट गणतन्त्र स्मारक उदघाटन कार्यक्रम पनि छ । गणतन्त्र स्मारक नारायणहिटी दरबार परिसरमा निर्माण गरिएको छ । गणतन्त्र दिवसका अवसरमा पहिलो र दोस्रो संविधानसभाका सभासदहरुलाई राष्ट्रपतिले शितल निवासमा पदकसहित सम्मान गर्ने कार्यक्रम पनि राखिएको छ ।
४३४ कैदीको कैद मिनाहा
गणतन्त्र दिवसको अवसरमा राष्ट्रप्रमुखको हैसियतबाट राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा ४३४ जना कैदीको बाँकी कैदको सजाय माफी दिएकी छिन् ।

Facebook Comments Box