दमक/ समाजसुधारक , १६ औं राष्ट्रिय विभुती महागुरु फाल्गुनन्दको आज १३८ औं जन्म जयन्ती विशेष महत्वसाथ मनाइँदैछ । विशेष गरी किराँत धर्मावलम्बी र उनका अनुयायीहरुले परम्परा अनुसार उनको श्रद्धासहित जयन्ती मनाउने गर्छन । झापा, इलाम, पाँचथर लगायत देशभर र प्रवासमा समेत महागुरु फाल्गुनन्दले समाजलाई दिएको योगदानको विशेष चर्चा परिचर्चा गर्ने गरिन्छ ।
किराँत धर्मका प्रवर्तक समेत रहेका महागुरु फाल्गुनन्दको जन्मजयन्तीको अवसरमा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्र राईले देश, विदेशमा रहनु हुने नेपाली दिदीबहिनी, दाजुभाइहरूमा शुभकामना व्यक्त गरेका छन ।
वि.सं. १९४२ सालमा पूर्वी नेपालको इलाममा जन्मिएका फाल्गुनन्दसँग अद्भुत तथा चमत्कारिक गुण रहेको विश्वास गरिन्छ । प्रकृतिप्रेमी किराँत समुदायलाई विकासको मूलधारमा ल्याउन र सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा अझ प्रगाढ बनाउनका साथै शिक्षाको प्रार्दुभाव गर्न गुरु फाल्गुननन्दको विशेष भूमिका रहेको छ । मख्यमन्त्री राईले यस अवसरमा जारी गरेको शुभकामना सन्देशमा भनिएको छ– महागुरु फाल्गुनन्दले दिनुभएका दिव्य ज्ञान अनि परम सत्य वचनहरूले मानव जीवनको विभिन्न कालखण्डमा सत्मार्ग देखाउने गरेको छ ।
आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार–संस्कृति, शिक्षा, समाज सुधारका साथै किरात धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहने; प्रेम र अहिंसाका अनुयायी तथा प्रतीकका रूपमा पनि चिनिनुहने महागुरु फाल्गुनन्दलाई नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरी उनको सम्मानमा तस्वीरसहितको हुलाक टिकट प्रचलनमा ल्याएको छ ।
यस अवसरमा प्रदेश नं. १ सरकारका तर्फबाट आज एक दिन बिदा दिए सरकारले उच्च सम्मान प्रकट गरेको पनि शुभकामना सन्देशमा स्मरण गराइएको छ ।
महागुरु फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम भई राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने सन्देशमा उल्लेख छ ।