क्याम्पा ( कमल)/ शुक्रबार मध्यान्ह १२ बज्दा नबज्दा कमल गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेटबाट सिटी सफारीमा एक हूल मानिस (अन्दाजी ५/६ जना) महिला र केही पुरुषहरु सोझै कार्यालय परिसर प्रवेश गरे ।


आआफनो खेतबारीबाट सोझै गाउँपालिका कार्यालय प्रवेश गरेका उनीहरुले कृषि प्राविधिक प्रेम पोखरेललाई नमस्कारको अभिवादन गर्दै सोधे– मल पाइन्छ कि पाइँदैन ? पोखरेलले पनि सहजै जवाफ दिए किन नपाउनु ? जत्ति पाइन्छ ।
किसानको प्रतिनिधित्व गर्दै कमल ३ केरखाकी गीता ढकालले फेरी सोधिन कति सम्म लान पाइन्छ ? किसानले मलको मूल्य सोधे कसरी पर्छ नि ? पोखरेलले जवाफ फर्काए पैसा पर्दैन , निशुल्क पाइन्छ । किसानहरु खुशीले गदगद भए ।
हिउँदे खेती लगाउने चटारोमा रहेका किसानहरु मल लिन गाउँपालिका आउँदा हातमा भने प्लाष्टिकका ड्रम, ग्यालेन, जग लिएका देखिन्थे ।
किसानले मल भन्ने बित्तिकै सबै ठाउँमा यतिबेला डिएपी , युरिया जस्ता रासायनिक मल खोजेको अनुमान गर्न सकिन्छ तर कमलमा आएको किसानहरुको यो समुह डिएपी , युरिया जस्ता रासायनिक मलको माग लिएर आएको थिएन । उनीहरु आफनो बारीमा लगाउने रसायनिक मलको बिकल्पमा गाउँपालिका भित्रै बनेको जैविक मलको प्रयोग गरेर कृषि उत्पादनको दरलाई बढाउन चाहन्छन ।

गाउँपालिकाले तयार गरेको यस्तो मल तरल ( झोल) प्रकृतिको छ । गाउँपालिका कार्यालयको दक्षिण तर्फको गेट प्रवेश गर्ने वित्तिकै १५/२० थान प्लाष्टिकका ड्रम हमेसा यहाँ उत्पादित कमल झोल मलले भरिएका हुन्छन । यो सखर र वेस्ट डी कम्पोजरको समिश्रणबाट तयार गरिएको झोल मलको ब्राण्डिङ समेत भइसकेको छ । यहाँ झोल मल मात्रै उपलब्ध छैन कमल युरिया कमल प्रांगारिक मल कमल जिबामृत लगायत ७ प्रकारका मल बनाउने गरिएको छ ।


प्रदेश एकका किसानहरुलाई लक्षित गरेर सरकारले स्थापना गरेको कृषि अनुसन्धान केन्द्र तरहराले समेत गाउँपालिकाका कृषि प्राविधिकहरुले तयार गरेको यो कमल झोललाई गुणस्तरीय जैविक मलका रुपमा प्रमाणित गरिसकेको छ ।
केही समय अघि आफनो तोरी बालीमा यही झोल मल हालेर तोरी सप्रिएपछि पुनः मकै खेतीमा लगाउन झोल मल लिन आएका कमल २ क्याम्पा नजिकैका किसान बिष्णु अधिकारीले यहाँको कमल झोल मल लाभदायक रहेको अनुभव आफूले गरेको सुनाए । अधिकारीले भने–मैंले तोरीमा यो मल लगाएपछि लाइ लागे जस्तो किराले खान थालेको पनि एकाएक हराएको देखें ।
गाउँपालिकाका कृषि शाखा प्रमुख महेन्द्र बोहोराले झोल मलमा किसानहरुको आकर्षण बढेको बताए । उनका अनुसार गत आर्थिक बर्षमा एक लाख लिटर झोल मल किसानहरुले आफनो खेतबारीमा प्रयोग गरेका छन । अहिले पनि दिनहुँ २०/३० जना किसानहरु झोल मल लिएर जाने गर्छन ।
चालू आर्थिक बर्षको पाँच महिनामा ४० हजार लिटर हाराहारीमा यो मल खपत भइसकेको छ ।
गाउँपालिकाले बिषादीरहित कृषि उपज उत्पादन गर्ने लक्ष्य राखेर क्रमश खेतबारीमा रासायनिक मलको प्रयोग घटाउँदै जाने नीति लिएर स्थानीयस्तरमानै जैविक मल उत्पादन गर्ने कार्यक्रमनै अघि सारेको छ ।
कोरोना शुरु हुने बित्तिकै दुई बर्ष अघि बजारमा रासायनिक मलको हाहाकार मच्चिएपछि त झनै किसानहरु पनि सहजै रासायनिक मललाई विस्थापन गर्न तयार भए । किसानहरुको साथ सहयोग पनि रहयो । गाउँपालिकाले किसानहरुलाई मलमा आत्मनिर्भर बनाउने उपाय खोज्दै जाँदा जैविक मल (कमल झोल) बिकल्प बन्दै गएको हो । तीन बर्ष अघिदेखि शुरु भएको मल उत्पादन गर्ने उपयुक्त योजनालाई पछिल्लो पटक चुनिएका जनप्रतिनिधिहरुले पनि महत्वसाथ निरन्तरता दिएका छन ।
त्यसो त गाउँपालिकाले चालू आर्थिक बर्षदेखि कृषकसंग अध्यक्ष कार्यक्रमनै ल्याएर कृषिमा आधुनिकीकरणसंगै व्यवसायिकरणको प्रयास पनि गरिरहेको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह राई भन्छन– कृषि पेशा एउटा सम्मानित पेशा हो भन्ने अनूभुति गाउँपालिकाबासीलाई दिलाउने गरीका कार्यक्रमहरु ल्याएका छौं । सधैं मलको हाहाकार र अभावलाई झेलिरहनु परेको तितो यथार्थलाई गाउँपालिकाले नजिकबाट बुझेको र कृषिसंग सम्बन्धित पुराना पनि राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिदैं रणनीतिक रुपमानै कृषिलाई सम्बोधन गर्ने खालका नयाँ कार्यक्रमहरु समेत समावेश गर्ने योजना रहेको अध्यक्ष राईको भनाई छ ।

Facebook Comments Box