दमक/गत श्रावण ९ गतेदेखि झापाको हल्दीबारी १ गोल्धापका ६९ बर्षिय उमाकान्त अर्याल एकाएक वेपत्ता भएका छन् ।

बिहान ९ बजेतिर एकाएक घरबाट उनी बाहिरिएका थिए । सधैं जसो घरबाहिर चोक बजार सम्म जाने आउने गरिरहने भएकाले उनलाई दिनभर कसैले वास्ता गरेनन् । साँझ पर्यो अर्याल घर फर्किएनन् ।

aryal-baa.jpg

आज भन्दै भोली भन्दै १७ दिन वितिसक्यो उनको अत्तोपत्तो छैन । अर्याल श्रीमति र छोरा बुहारीका साथ बस्दै आएका थिए । अर्यालका नातेदार भाई काँकरभिट्टाका खेमनाथ अर्यालका अनुसार दाजु उमाकान्तले घर छोडेर हिंडेको ४ दिन पछि श्रावण १३ गते पाँचथरको फिदिम ५ केराबारीमा जेठो छोरासंगै बस्दै आएकी आमा १०२ बर्षिय भीमाकुमारी आचार्यको निधन भयो । बृद्धा आमा छोरा हराएको सुनेर त्यही पीरले वितिन् । भीमाकुमारीका जेठा छोरा पूर्णानन्द अर्याल लगभग ८५ बर्षका छन् ।

आमाको निधन पछि काजकिरियामा बस्नुपर्ने बृद्ध उमेरका छोरा पूर्णानन्द आफैं सिकिस्त भए । एक छोरा सिकिस्त अर्का वेपत्ता । २५ श्रावणमा आमा भीमाकुमारीको १३ दिनको काजकिरिया सकियो तर गोल्धापबाट हराएका छोरा उमाकान्त अझै नफर्किँदा अर्याल परिवार विलखबन्दमा परेको छ । अर्याल परिवारले हराएका उमाकान्तको खोजीका लागि नजिकको प्रहरी कार्यालयमा हुलिया दिईसकेका छन् । तर पनि उनको अझै अत्तोपत्तो नहुँदा पिरलोमाथि पिरलो थपिएको खेमनाथले बताए ।

कालो अस्कोट, खैरो सर्ट, कालो पेन्ट र म्याजिक चप्पल लगाएर निस्किएका अर्याललाई देख्ने वा भेट्ने जो कोहीले नजिकको प्रहरी कार्यालय वा अर्यालको घरको आफन्तको ९८१७००५४८८ ÷ ९८४२७५४८०७ नम्बरमा सम्पर्क गरीदिन परीवार जनले अनुरोध गरेका छन् ।

Facebook Comments Box