दमक/ श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर दमकमा आज मध्यान्हदेखि २४ घण्टे अखण्ड संगीत कार्यक्रम शुरु गरिएको छ ।
दमकमा लामो समयदेखि कला संगीतका क्षेत्रमा सयौं बिद्यार्थीहरुलाई पोख्त बनाउन सफल बिहानी कला केन्द्रको आयोजनामा दमक ८ मा सो कार्यक्रम सञ्चालन गरिएको हो ।


कला केन्द्रकी संस्थापक एवं संगीत प्रशिक्षक कमला खनालका अनुसार यसअघि बर्षेनी लगातार पाँच बर्ष सम्म यस किसिमको कार्यक्रम सञ्चालन गरेकोमा कोरोना महामारीका कारण केही बर्षयता स्थगित थियो । अहिले परिस्थिती अनुकूल बनेपछि अखण्ड संगीत सञ्चालन गरिएको खनालले जानकारी दिइन ।

अखण्ड संगीत प्रारम्भ गर्नुअघि आयोजित संक्षिप्त कार्यक्रममा दमक ८ का वडाध्यक्ष धर्मप्रसाद दाहाल, लोकगायक एलपी जोशीसहित स्थानीय जनप्रतिनिधिहरु, कला संगीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरुले शुभकामना दिएका थिए । कला केन्द्रमा अध्ययनरत बिद्यार्थी तथा नवोदित गायक गायिकाहरुले सांगितिक कार्यक्रम प्रस्तुत गरिरहेका छन । आयोजक संस्थाकी प्रमुख खनालले पूर्व क्षेत्रमानै यस किसिमको अखण्ड संगीत सञ्चालन गर्ने बिहानी कला केन्द्र एकमात्रै संस्था भएको दाबी गरेकी छिन । उनले गीत संगीतका प्रतिभाहरुको प्रस्फुटन गराउने र सांगितिक मनोरञ्जन दिलाउन सहयोग सिद्ध हुने विश्वास लिइएको बताइन ।

 

Facebook Comments Box