दमक/ असिनासहितको वर्षाका कारण झापाको कृषिबालीमा भएको क्षति अनुसार राहत उपलब्ध गराउन सम्बन्धित निकायले संघीय सरकारसमष सिरफारिस पठाएको छ ।
गत चैत १७ गते आएको असिनासहितको वर्षाले पाँच वटा पालिकाको एक हजार नौ हेक्टरमा लगाएको कृषिबाली (मकै र तरकारी) क्षति पुगेपछि सोको स्थलगत अनुगमन गरी किसानलाई राहत उपलब्ध गराउन कृषि मन्त्रालयमा सिफारिस गरिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिए । क्षति भएको क्षेत्रफल र सम्बन्धित बालीको प्रतिकठठा उत्पादन लगतको आधारमा छ करोड ५१ लाख ९० हजार छ सय १५ राहत उपलब्ध गराउन सिफारिस गरिएको हो ।
असिनासहितको वर्षाले झापाको कनकाई र विर्तामोडमा सबैभन्दा बढी क्षति पुर्याएको थियो । कनकाई नगरपालिकाका सात वटा वडामा एक हजार नौ सय दुई जना किसानले सात सय ३९ हेक्टरमा लगाएको मकै र तरकारी गरी रू चार करोड ४६ लाख ६३ हजार ५६ क्षति भएको छ । त्यस्तै, विर्तामोड नगरपालिकाको चार वटा वडामा छ सय ७९ जना किसानले दुई सय ९४ हेक्टरमा लगाएको मकै र तरकारी गरी एक करोड ५४ लाख ८८ हजार आठ सय ४४ रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ । हल्दिबारी गाउँपालिकाको एक वडाका ४० जना किसनाको १५ हेक्टर, भद्रपुर नगरपालिकाको एक वटा वडाका दुई जना किसानको १२ हेक्टर र शिवसताक्षी नगरपालिकाकाको दुई वटा वडामा ९४ जना किसानले ५० हेक्टरमा लगाएको मकै तथा तरकारी बालीमा क्षति पुर्याएको कार्यालयले जनाएको छ ।
मकै बालीको प्रतिकठठा २ हजार १३ रुपैयाँ र तरकारी खेतीको प्रतिकठठा ५ हजार ६० रुपैयाँ क्षति मुल्याकंन गरि सिफारिस गरिएको हो ।

 

 

Facebook Comments Box