राजेन्द्र केरुङ झापा, इलाम लगायतका पूर्वी जिल्लामा राजनीतिक तथा सामाजिक क्षेत्रमा स्थापित व्यक्तित्व हुन् ।
झापाको उत्तरी क्षेत्रसंग जोडिएको इलाम क्षेत्र नं २ अन्तर्गतको चुलाचुली गाउँपालिका वडा नं ३ का स्थायीबासिन्दा केरुङको जन्म २०३४ सालमा बुबा हर्क प्रसाद केरुङ र आमा शंखमायाको कोखबाट भएको हो । केरुङ नेपाली कांग्रेसको क्षेत्रीय सदस्य र नेपाल तरुण दलको क्षेत्रीय सभापति हुन् ।
उनले २ बर्ष अघिको स्थानीय तहको निर्वाचनमा पार्टी भित्र अन्तरघात र वागी उम्मेद्वारको समेत सामना गर्दै गाउँपालिका अध्यक्षमा कडा प्रतिस्पर्धा गरेका थिए ।
३३९ मतान्तरले गापा अध्यक्षमा पराजित हुन पुगेका केरुङले निर्वाचन परिणामलाई आत्मसाथ गर्दै आफ्नो राजनीतिक , सामाजिक जीवनलाई उत्तिकै सक्रिय रुपमा अघि बढाईरहेका छन् । प्रस्तुत छ केरुङसंग निष्कर्ष न्यूजले गरेको कुराकानीको निष्कर्ष–

अहिले चुलाचुलीमा कांग्रेसले कस्तो भुमिका निर्वाह गरिरहेको छ ?

हामीलाई चुनावमा जनताले जुन मत दिनु भएको छ त्यो हामीलाई प्रतिपक्षमा रहनका लागि हो । अहिले निर्वाचित अध्यक्ष ज्यू र मैंले प्राप्त गरेको मतान्तर ३३९ हो । हामी लोकतन्त्रवादीहरु जनताको मतमा विश्वास गर्छौ र जनताको मतको सम्मान गर्ने गर्छौं ।
हामी त्यसै कारणले अहिले चुलाचुलीमा पनि देशका धेरै ठाउँमा जस्तै प्रतिपक्षीय भुमिकामा छौं । हामीले गाउँपालिका बाहिर स्थानीय सरकारका गतिबिधिहरुलाई सुक्ष्म रुपले हेरिरहेका छौं ।
उहाँहरुले आवश्यक ठान्नु भएको अवस्थामा बैठक, छलफलहरुमा बसेर गुण र दोषका आधारमा सकारात्मक र रचनात्मक किसिमको सहयोग पनि गरिआएका छौं ।
हामीले चुनाव हारेपनि हाम्रो पहुँचले भ्याएसम्म यहाँँको टेलिकमको टावरदेखि पाडाजुँगी चुलाचुली महमाई सडकको योजना लगायत अन्य भौतिक पूर्वाधार निर्माणका योजनाहरुका बिषयमा सरोकारवाला निकायहरुमा चासो राखेर ध्यानाकर्षण गराउने काम गरेका छौं ।
भर्खरै हामीले साता÷दश दिन अघि गाउँपालिकामा कांग्रेसकै नेतृत्वमा नेकपासहित पाँच पार्टीले यहाँका जनप्रतिनिधिहरुलाई लिखित रुपमा ज्ञापन पत्रमार्फत गाउँपालिकाको ध्यानाकर्षण गराएका छौं । यहाँको विकास निर्माणदेखि यहाँको प्राकृतिक स्रोत साधनको दुरुपयोगका सवालमा हामीले स्थानीय सरकारको नेतृत्वकर्ता नेकपासहितलाई समेटेर ज्ञापन पत्र बुझायौं ।

तपाइँको मुल्याङकनमा चाहिं चुलाचुलीमा जनप्रतिनिधिको २ बर्षे कार्यकाल कस्तो छ ?

जनप्रतिनिधिहरुको २ बर्षे कार्यकालको कुरा गर्ने हो भने त चुलाचुलीमा पटक्कै सन्तोषजनक छैन । कार्यालयबाट हुने सेवाप्रवाहका हिसाबले भन्ने हो भने चुस्त, छिटो र सहज ढंगबाट जनातको कार्य सम्पादन हुन नसकेको गुनासो आईरहेको छ । अर्को कुरा पूर्वाधार विकासमा गुणस्तरको कमी छ । पूल , कल्भर्ट , सडकहरु तोकिएको मापदण्ड अनुसारको नबनाउने, पहिला थोरै बजेटमा धेरै काम गर्न खोजे जस्तो गर्ने पछि अपुग भएको भनेर या त बीचैमा काम छोड्ने या त अपारदर्शी ढंगबाट जति मन लाग्यो त्यति बजेट थपेर अनियमितता र भ्रष्टाचार बढाउने गरेको देखिन्छ । गाउँपालिकाको बजेट कार्यक्रमहरु, हरेक योजनाको लागत विवरण आदि सार्वजनिकिरण हुने गरेको छैन यो ठिक तरिका होइन ।

चुलाचुली गाउँपालिकाले गर्नुपर्ने आवश्यकता चाहिं के देख्नुहुन्छ ?

गाउँपालिकाले बलि बढी पूर्वाधार विकासमा रुची राखेको पाउँछु । चुलाचुलीमा खास गरी शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिनुपर्ने हो भन्ने मलाई लाग्छ । अर्को कुरा हामीले अस्ति पाँच दलका तर्फबाट बुझाएको ज्ञापन पत्रको बिषय चुलाचुलीको प्राथमिक बिषय हो । हाम्रो चुलाचुलीको भुगोलमा पर्ने रतुवा खोलामा गिटी , बालुवको अबैध उत्खनन रोक्न तत्काल गाउँपालिकाले दमक नगरपालिकासहित अरु सरोकारवाला निकायहरुसंग कुराकानी गर्नुपर्छ । अघिल्लो बर्षपनि जुन रुपमा तोकिएको मापदण्ड भन्दा धेरै भुभाग उत्खनन गरिएको छ । गिटी, बालुवा चुलाचुलीको, ठेक्कापट्टा दमकको चलिरहेको छ । यहाँ सरासरी गाउँपालिकाको कम्जोरी देखिन्छ । यसमा तत्काल गाउँपालिकाले एक्सन लिनु पर्छ ।

कांग्रेसको अवस्था चाहिं के छ चुनाव पछि ?

स्थानीय, प्रदेश र संघको चुनावी परिणामले कांग्रेसलाई जनताको दुखसुखमा साथ दिन, घर दैलोमा खटिन सन्देश दिएको छ । चुनावमा घात अन्तर्घात गर्नेहरुलाई चुलाचुलीको हकमा पार्टीको केन्द्रिय अनुशासन समितिले नै कारवाही गरिपनि सकेको छ ।
मेरा वागी उम्मेद्वार, तिनका प्रस्तावक, समर्थक पार्टी कार्यकर्ताहरु परेका छन् । कांग्रेस एक किसिमले चुलाचुलीमा अब शुद्धीकरण भएको छ । अबको कांग्रेस राम्रो कांग्रेस हुनेछ । –  यो कुराकानी ७ भदौमा प्रकाशित हुने निष्कर्ष न्यूज साप्ताहिकमा पनि जस्ताको तस्तै पढ्न सक्नु हुनेछ ।

Facebook Comments Box