दमक/असार पन्ध्र अर्थात राष्ट्रिय धान दिवसको अवसर पारेर आज बिभिन्न ठाउँमा सामुहिक धान रोपाइँ आयोजना गरिएका छन । राजनीतिक दल र सम्बद्ध किसान संघ संगठनहरुको आयोजनामा भएका धान रोपाइँ कार्यक्रममा राजनीतिक दलका नेता, कार्यकर्ताहरु सहभागी भएर किसानलाई उर्जा भर्ने काम गरेको बताउँदै आएका छन । खाट्टी किसानहरु भने राजनीतिक नेतृत्वले किसानमैत्री नीति कार्यक्रमहरु नल्याउँदा किसानहरु सधैं मर्कामा परेको गुनासो गर्ने गरेका छन ।
कांग्रेस र रास्वपाको रोपाइँ
हिजोदेखि फाट्टफुट्ट भइरहेको बर्षाले किसानलाई राहत दिएको छ । धेरै जसो खेतमा पानी जमेकाले किसानहरुलाई यसपटक समयमै धान रोपाइँ गर्न सहज भएको छ । हिल्याइएका खेतहरुमा रोपाहार र बाउसेहरु आआफनो काममा व्यस्त छन । ब्याडे र हलो जोत्ने ट्रयाक्टर चालकलाई पनि भ्याइ नभ्याई छ ।
नेपाली कांग्रेस सम्बद्ध नेपाल किसान संघको आयोजनामा दमकको वडा नं ४ मा आयोजना गरिएको सामुहिक धान रोपाइँ कार्यक्रममा कांग्रेस झापाका जिल्ला सभापति देउमान थेवेको प्रमुख आतिथ्य रहेको छ । थेवेले रोपाइँ कार्यक्रमको औपचारिक उदघाटन गर्दै आफनो पारिवारिक घटनाका कारण धेरै समय दिन नसक्ने भन्दै शुभकामनाका शब्दहरु राखेर विदा भएपछि त्यहाँँ सामुहिक रोपाइँ शुरु भएको छ ।

नेता थेवेका दुई जना आफन्तको केही दिन अघि ताप्लेजुङमा पहिरोले पुरिएर निधन भएको थियो । सो कार्यक्रम नेपाल किसान संघका कोशी प्रदेश समिति अध्यक्ष राजेन्द्र भट्टराईको नेतृत्वमा सञ्चालन भएको बताइएको छ । कार्यक्रममा कांग्रेस नेता सुरेश सुब्बा, क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, प्रदेश समिति सदस्य चन्द्रा खडका भट्टराई, महाधिवेशन प्रतिनिधि राजन ढुंगाना , मेदनीप्रसाद सिटौला, अइन्द्र केरुङ, प्रदेश सभा क्षेत्र खका सभापति रवि केसी , दमक नगर सभापति प्रकाश प्रसाइँ लगायत नेताहरुको उपस्थिती रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको दमक नगर समितिले पनि दमकको २ नम्बर वडामा पर्ने डाकिनीमा सामुहिक धान रोपाइँ कार्यक्रम आयोजना गरेको छ ।
