कमल/ देश बिकासको आधार कृषि, कृषि बिकासको आधार श्रम संस्कृती भन्ने मुल नारासहित झापाको कमल गाउँ पालिका वडा नम्बर १ स्थित श्री नरेन्द्र जनता माबिको स्वामित्वमा रहेको जग्गामा धान रोपाइँ गरिएको छ ।
बिद्यालय व्यवस्थापन समितिका राम भन्डारीले बीउ उखालेर रोपाइँको शुरूवात गरेका बिद्यालयका प्रधानाध्यापक बद्री कार्कीले जानकारी दिए ।
सो अवसरमा व्यवस्थापन समितिका सदस्यहरु,पुर्व अध्यक्षहरु, अभिभावक ,शिक्षक तथा कक्षा ६–१० का विद्यार्थी सहभागी थिए । छात्रहरुले बीउ काड्ने ,बीउ दिने र बाउसे काम गरेका थिए भने छात्राहरुले रोपाइँ गरेका थिए ।

रोपाइ कार्यक्रमले श्रम संस्कृतिको बिकास गर्ने, कृषिप्रति सकारात्मक धारणाको बिकास हुने र उत्पादनमा टेवा दिने बिश्वास गरिएको प्रधानाध्यापक कार्कीको भनाई छ ।
बिद्यालयले रोपाइँ गरेको खेतमा उत्पादन भएको धानबाट चामल बनाएर बालबालिकालाइ दिवा खाजा खुवाउने र हिउँदमा तरकारी बाली पनि लगाउने योजना रहेको बिद्यालयले जनाएको छ ।
रोपाइ कार्यक्रम आफैंमा राम्रो भएको र यसले आपसी सहयोग र एकताको भावना बिकास गर्नुका साथै रमाइलो अनुभुती गराएको बिद्यालयका बाल क्लवकी निवर्तमान अध्यक्ष अम्बिका पौडेलले बताइन ।