झापा दमकको व्यवसायिक, खेलकुद तथा सामाजिक क्षेत्रमा स्थापित नाम हो टिकाराम प्रसाइँ ।
दमक २ का बासिन्दा प्रसाइँको जन्म विसं २०२५ असार १ गते तेह्रथुमको इवा गाविसमा बुबा गंगा प्रसाद प्रसाइँ र आमा जमुनादेवी प्रसाइँको कोखबाट भएको हो ।
प्रसाइँले प्रारम्भिक शिक्षा तेह्रथुमकै पोखरी माविबाट लिएका हुन् । उनले एसएलसी भने दमकको हिमाविबाट उत्तिर्ण गरेका हुन् । २०३७ सालदेखि दमकमा बसेर २०४४ सालदेखि रेडिमेड व्यवसाय शुरु गरेका उनले २०४८ देखि काठमाडौंमा पर्यटन व्यवसायीका रुपमा व्यवसाय सञ्चालन गरे ।
पारिवारिक कारणले २०६५ देखि पुन दमकनै फर्किएर निरन्तर रेडिमेड व्यवसायीका रुपमा व्यवसायमा संलग्न उनको राजनीतिक जिवन विद्यार्थी कालबाटै २०३८ सालमा शुरु भएको हो ।
भने २०५२ सालदेखि नेकपा एमालेको संगठित सदस्यता लिएका हुन् । उनी तत्कालिन अखिलमा छँदा काठमाडौं जिल्ला सचिव समेत भए । दमकको बसाइ संगै वडा नं २ मा पार्टीको वडा कमिटी अध्यक्ष दुई कार्यकाल सम्म चलाएका उनी अहिले नेकपाको वडा कमिटी सदस्य छन् ।
सामाजिक रुपमा समेत उनी गोरखा स्पोर्टिङ क्लबको सहसचिव , कन्काई धाम धार्मिक विकास संस्थाको निर्वाचित सदस्य, अखिल नेपाल फुटबल संघ एन्फाको जिल्ला सदस्यका रुपमा रहेर जिम्मेवारी निर्वाह गरेका छन भने राष्ट्रिय मानव अधिकार प्रतिष्ठान झापाको पूर्व कार्य समिति सदस्य , प्रसाइँ ट्रष्ट कल्याणकारी कोषको झापा जिल्ला अध्यक्ष र दमकस्थित अनाथ बाल बृद्ध आश्रमको निर्माण समिति सचिव पनि हुन् । पछिल्लो समय ३ बर्ष अघि दमक उद्योग
वाणिज्य संघको कार्य समिति सदस्यमा पार्टीको आधिकारिक लाइनबाट उम्मेद्वार बनेर निर्वाचित भएका उनले संघ मातहतको बजार व्यवस्थापन समिति संयोजकको रुपमा समेत जिम्मेवारी निर्वाह गर्दै आएका छन् । दमक ६ स्थित सिद्धी मार्केटका सञ्चालक समिति सदस्य समेत रहेका उनले अहिले संघको द्धितीय उपाध्यक्षमा स्वतन्त्र व्यवसायी उम्मेद्वारका रुपमा आफ्नो उम्मेद्वारी प्रस्तुत गर्ने तयारी गरेका छन् । प्रस्तुत छ उनीसंग निष्कर्ष न्यूजले गरेको कुराकानीको निष्कर्ष ः

वाणिज्य संघमा तपाइँको उम्मेद्वारीका लागि किन दाबी गर्नुभएको हो ?
म दमकका उद्योगी व्यवसायीहरुका हरेक समस्याहरुसंग परिचित छु । व्यवसायीहरुसंग लामो समयदेखि संगै घुलमिल गरि बसेको त्यसमाथि पछिल्लो ३ बर्षदेखि संघमा नै निर्वाचित सदस्य भएर विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएको छु । प्रत्यक्ष अप्रत्यक्षरुपमा मैंले धेरै व्यवसायीहरुका समस्या र गुनासोहरु सुन्न र तिनको समाधान गर्न भुमिका निर्वाह गरेको छु । अझै पनि थुप्रै व्यवसायीहरु संघमा आवद्ध हुन बाँकी हुनुहुन्छ । उहाँहरु दमकमा स्थापित व्यवसायीहरुलाई संघमा आवद्ध गराउनका लागि पनि मैंले उम्मेद्वारी दिने निधो गरेको हुँ ।
अघिल्लो कार्यकालमा तपाइँले व्यक्त गरेका चुनावी प्रतिबद्धताहरु कति पुरा भए ?
हामीले निर्वाचित हुदैैं गर्दा बजारमा सुरक्षागार्डको व्यवस्था गर्ने भनेका थियौं । दमकको नमुना बजार आसपासमा हामीले त्यो पूरा गर्र्योैं । पछि नगर प्रहरी बसेपछि त्यसलाई हटाइयो । र त्यहाँ मेरो आफ्नै संयोजकत्वमा प्रहरी विट निर्माण गरियो । अब बजारमा सुरक्षाका दृष्टिकोणबाट सबैले सुरक्षित महसुस गर्ने वातावरण बनेको छ ।
फेरी पनि संघको नेतृत्वमा आउनु भयो भने तपाइँको काम के हुनेछ ?
मैंले अघिनै भनें दमक बजारमा छरिएर रहेका साना तथा मझौला व्यवसायीहरुलाई संघमा आवद्ध गराउने, घरबेटी र बहालवाला व्यवसायीहरुका बीचमा रहेका समस्या निराकरण गर्ने, व्यवसायीलाई परेको झण्झटिलो कर प्रणालीमा सहजीकरण गर्ने , दमकलाई औद्योगिक तथा पर्यटकीय नगरका रुपमा विकास गर्न आवश्यक सबै कामहरु गर्ने, दमकमा रहेका अन्य संघ संस्थाहरुसंग समन्वय गरी वाणिज्य संघको महत्व र गरिमालाई उच्च बनाउनेछु ।
किन स्वतन्त्र उम्मेद्वारका रुपमा आउन पनि ढिलो गर्नुभयो नि ?
उम्मेद्वारी घोषणामा त्यति ढिला नै भई हालेको जस्तो मलाई लाग्दैन । मैंले संघमा गरेको योगदान र मेरो पृष्ठभुमीका आधारमा उम्मेद्वारीको अवसर पाउँछु भन्ने लागेको थियो । तर मलाई एकाध मान्छेहरुको गलत सोचका कारण पाखा लगाउन खोजियो । म त्यसरी पाखा लाग्ने छुइँन । मलाई विश्वास छ पार्टीले मलाई टिकट नदिदाँ आम व्यवसायी र मतदाताहरुमाथिनै अन्याय भएको छ । म आम व्यवसायीहरु र स्वयम ममाथि न्यायका लागि उम्मेद्वार बनेको छु । समग्रमा मैंले न्यायका लागिनै व्यवसायीहरु माझमा नै जाने निधो गरेको हुँ । ढिलै भएपनि सबैसंग पुगेर मेरो कुरा राख्ने र मन जित्ने विश्वास छ ।

 

Facebook Comments Box