दमक/ दमक ६ स्थित हिमचुली वचत तथा ऋण सहकारी संस्थाको १५ औं बर्षिक साधारणसभा सम्पन्न भएको छ ।
दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाइँको प्रमुख आतिथ्यमा भएको साधारण सभाको उदघाटन कार्यक्रमका वक्ताहरुले संस्थाका सदस्यहरु आआफनो संस्थाको वित्तीय अवस्था र यसका गतिबिधिका बारेमा सुसुचित हुनुपर्नेमा जोड दिए ।
उनीहरुले सहकारी संस्थाहरुले सदस्यको विश्वास जित्न नसक्नुका पछाडी कतिपय सञ्चालक र कर्मचारीहरुनै कारक हुने गरेको पनि उल्लेख गरेका छन । दमक उद्योग बाणिज्य संघको सभाकक्षमा आयोजित साधारण सभाको अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा भगवती अधिकारीलाई सम्मान गरिएको छ । त्यस्तै संस्थामा उत्कृष्ट कारोबार गर्ने १० जना सदस्यहरुलाई पनि सम्मान गरिएको व्यवस्थापक छवि घिमिरेले जानकारी दिए ।
संस्थाकी अध्यक्ष लिला ढुंगेल दाहालको अध्यक्षतामा भएको साधारण सभामा जिल्ला सहकारी संघ झापाका लेखा संयोजक चुडामणी ओझा, संस्थाका संस्थापक राजकुमार भट्टराई, जिवन चक्र समाजका अध्यक्ष गणेश गौतम लगायतले पनि साधारणसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
साधारणसभाको बन्दसत्रले अध्यक्ष दाहालले प्रस्तुत गरेको सञ्चालक समितिको बार्षिक प्रतिवेदन र लेखा संयोजक भेषराज भट्टराईले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन सुझाव सहित पारित गरेको जनाइएको छ ।

 

Facebook Comments Box