दमक/ मोरङको उर्लाबारीमा मुख्य कार्यालय स्थापना गरेर झापामा समेत कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाको १२ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ ।
यसअघि इकाइगत रुपमा साधारण सभा शुरु गरेको सो सहकारीले निर्णय एकीकृत र प्रमाणिकरण तथा उत्कृष्ट शेयर सदस्य तथा पत्रकारहरुलाई पुरस्कृत गर्दै साधारण सभाको औपचारिक समापन गरेको हो ।
उर्लाबारी उद्योग वाणिज्य संघको सभाकक्षमा शनिबार आयोजित साधारण सभाका वक्ताहरुले सहकारी क्षेत्रमाथी बैंकहरुले गरिरहेको आक्रमणका विरुद्ध सहकारी अभियान्ताहरु एकजुट भएर आपसी समन्वय र सहकार्यसहित अघि बढनुपर्ने समय आएको औंल्याए ।
वक्ताहरुले सामाजिक क्षेत्रमा समेत सहकारी संस्थाहरुले निर्वाह गर्दै आएको भुमिकालाई नजरअन्दाज गरिनु नहुनेमा पनि जोड दिए ।
जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालको प्रमुख आतिथ्य र मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राईको विशेष आतिथ्यमा भएको सभाको उदघाटन कार्यक्रममा प्रमुख अतिथी दाहालले देशका २९ हजार सहकारीमध्ये थोरै सहकारी र तिनको कारोबार, व्यवहारलाई हेरेर सबैमाथी औंला उठाउने काम गरिनु न्यायोचित नहुने बताए ।
उनले सहकारीमा थुप्रिएको पुँजी देखेर बैंकहरुले आँखा गाडेको भन्दै उनीहरुलेनै सहकारीको बारेमा जनमानसमा अनावश्यक भ्रम फैलाउने गरेकोप्रति सतर्क रहन शेयर सदस्यलाई आग्रह गरे ।
उत्कृष्ट कारोबारी शेयर सदस्यहरुलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष राईले स्थानीय सरकार सहकारीहरुसँग समन्वय गरेर समुदायमा आधारित कार्यक्रमहरु सञ्चालन गर्न तयार रहेको उल्लेख गरे । उनले सहकारीलाई नजिकबाट बुझने र यसको सिद्धान्त अनुरुप अघि बढाउने हो भने साना पुँजी भएका व्यवसायी र सर्वसाधारणलाई ठुलो राहत मिल्ने पनि उल्लेख गरे ।


सामाजिक उत्तरदायित्व अन्तर्गत सुदर्शन सहकारीले आफनो पालिका क्षेत्रमा गर्दै आएको सेवामुखी कार्यक्रमप्रति अध्यक्ष राईले खुशी व्यक्त गर्दै आभार व्यक्त गरे । संस्थाका अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष शेरबहादुर भण्डारीले साना पुँजी भएका व्यवसायी र ग्रामिण क्षेत्रमा रहेका साना कृषि उद्यमीहरुलाई समेत समेटने किसिमका कार्यक्रमहरु सहकारीहरुले ल्याउनु पर्नेमा जोड दिए । राष्ट्रिय सहकारी बैंक उर्लाबारी शाखा प्रमुख विवेक रिजालले पनि सुदर्शन सहकारीको कारोबारमा पारदर्शीता र निरन्तरता प्रशंसायोग्य भएको उल्लेख गरे ।
बिषम परिस्थिती र आर्थिक मन्दीका बाबजुद सो संस्थाले सदस्यहरुको सेवामा निरन्तर लागिरहेको सो सहकारीले संस्थाका उत्कृष्ट कारोबारीहरु तीन दर्जन बढीलाई संस्थाले चाँदी सिक्कासहितको सुर्के थैली र सम्मान पत्र दिएर सम्मान गरेको छ भने उत्कृष्ट र नियमित बाल बचतकर्ताहरुलाई पनि पुरस्कृत गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत थरेन्द्रराज पौडेलले जानकारी दिए ।


त्यस्तै सहकारीले अघिल्ला बर्ष जस्तै यस बर्ष पनि झापा र मोरङका तीन जना पत्रकारहरुलाई नगद सम्मान पत्रसहित सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ । यसबर्ष पुरस्कृत हुने पत्रकारहरुमा दमकका बिष्णु पोखरेल तथा उर्लाबारीका केदार चौहान र सरोज बस्नेत छन ।
संस्थाका लेखा समिति संयोजक राजु तिम्सिनाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन संस्थाका सदस्य घनश्याम भण्डारीले गरेका थिए ।
उर्लाबारीमा १३ वर्षअघि स्थापना भएको सुदर्शन साकोसका मोरङको पथरीशनिश्चरे र मधुमल्ला तथा झापाको दमकमा सेवा केन्द्र सञ्चालनमा छन् । संस्थामा ५ करोड १५ लाख ९२ हजार ७ सय रुपैयाँ शेयर पुँजी र १० हजार १६ जना शेयर सदस्य रहेका संस्थाका कार्यकारी प्रमुख पौडेलले जानकारी दिए । गत आर्थिक वर्ष २०७९।०८० मा संस्थाको आम्दानी ८ करोड २२ लाख ७९ हजार २७८ र कुल खर्च ७ करोड ९३ लाख ९१ हजार ९८ रुपैयाँ भई २८ लाख ८८ हजार १८० रुपैयाँ मुनाफा भएको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्षमा संस्थाले कुल ६३ करोड ११ लाख ६८ हजार ७०६ रुपैयाँ बराबरको कारोबार गरेको कार्यकारी प्रमुख पौडेलले बताए ।


संस्थाको सञ्चालक समिति अध्यक्षमा भट्टराई, उपाध्यक्षमा आरती भण्डारी , सदस्यहरुमा लिलानाथ बस्नेत, टेकनाथ तिम्सिना, विन्दु धामी, हरिप्रसाद रेग्मी र कमलाकुमारी गुरागाइँ रहेका छन भने लेखा समिति संयोजकमा राजु तिम्सीना र सदस्यहरुमा सचिनकुमार गुप्ता तथा निसा लिम्बु रहेका छन ।
सञ्चालक समिति र कर्मचारीहरुको साझा प्रयत्नसाथै शेयर सदस्यहरुको निरन्तरको कारोबारका कारण सो संस्था पूर्वी मोरङमा अब्बल र शेयर सदस्य सेवा केन्द्रित सहकारीका रुपमा स्थापित हुँदै गएको छ ।

 

.

 

Facebook Comments Box