दमक/झापाको दमक ६ स्थित देवदर्शन कृषि सहकारी संस्थाको शेयर पुँजी झण्डै २ करोड रुपैयाँ पुगेको छ ।
चार बर्ष अघि स्थानीय सहकारीकर्मी तथा व्यवसायीहरुको समुहले स्थापना गरेको सो सहकारीले गत आर्थिक बर्ष सम्ममा सो शेयर पुँजी पुरयाएको हो । संस्थाको चौथो बार्षिक साधारण सभाको अवसरमा आज अध्यक्ष राजकुमार खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा चुक्ता शेयर पुँजी १ करोड ८६ लाख रुपैयाँ पुगेको उल्लेख छ ।
त्यस्तै संस्थाले सो बर्ष सोही अवधिमा कर्जा प्रवाहबाट व्याज मात्रै २ करोेड ९० लाख रुपैयाँ आम्दानी गरेको उल्लेख छ । गत बर्ष कूल २२ करोडको कारोबार गरेको सो सहकारीले विभिन्न रेमिट्यान्स सेवाहरु समेत सञ्चालन गर्दै आएको उल्लेख छ ।
दमक ६ का वडाध्यक्ष टेकबहादुर थापाको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष खड्काको सभापतित्वमा भएको सो साधारण सभाका अवसरमा बाल शैक्षिक बचत योजनामा सहभागि शेयर सदस्यका छोराछोरीहरुलाई स्कूल ब्याग पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई समेत पुरस्कृत गरिएको थियो । सभामा लेखा समिति संयोजक रोजिना श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गरेकी थिइन । सभामा जिल्ला सहकारी संघका सदस्य प्रेम कोइराला, संघका लेखा समिति सदस्य चुडामणी ओझा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए । भने स्वागत दिपक नेपाल र सञ्चालन ईश्वर नेपालले गरेका थिए ।