दमक/ वडा दसैँ लगत्तै मनाउने अर्काे ठुलो र महत्वपूर्ण चाड तिहार अर्थात यमपञ्चक आजदेखि शुरु भएको छ । तिहारको पहिलो दिनलाई काग तिहार पनि भनिन्छ ।
तिहार पर्व अन्तरगत कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुल्क द्वितीया तिथिसम्म पाँच दिन मनाइने तिहार पर्वको आरम्भ आजको दिन अर्थात काग तिहारबाट हुन्छ ।
काग तिहारमा कागलाई यमराजको सन्देश वाहकका रूपमा पूजा गरिन्छ । काग तिहारका दिन मात्रै कागलाई सम्मानका साथ पूजा गर्ने र खानेकुरा दिने चलन रहेको छ । काग कुकुर, गाई, गोरु र दाजुभाइको पूजा क्रमैसँग यमपञ्चकका पाँच दिनमा गरिने यस तिहार पर्व मनाइनेका बारेमा धेरै किबंदन्तीहरु पाइन्छन ।
मृत्युका देवता यम आफ्नी बहिनी यमुनासँग धेरै समयदेखि भेट्न पाएका थिएनन । यमुनालाई आफ्नो दाजुसँग भेट्ने धेरै इच्छा भएर विभिन्न माध्यमहरूमार्फत दाजुलाई भेट्न आउन निम्तो पटाइन्, उनले यम समक्ष सुरुमा काग अनि कुकुर, गाई अनि अन्त्यमा आफैँ गएर दाजुलाई भेटेको प्रसगं छ, दाजुलाई भेटेपछि उनले दाजुलाई टीका, फूल मालाले पूजा गरी रङ्गिन टिका निधारमा लगाएकी थिइन । तोरीको तेलले दाजु वरिपरि रेखा कोरेर मखमली फूलको र दुबोको माला लगाइदिई पूजा गर्दै भाइटिका लगाएकी थिइन् । त्यही क्रमलाई यमपञ्चकको पाँचौँ दिनमा भाइटिका लगाएपछि तिहारको विधीवत अन्त्य हुन्छ ।