लखनपुर/झापाको कमल ५ पाडाजुँगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था लि.ले आसन्न ९ औं साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन आज सार्वजनिक गरेको छ । संस्थाको कार्यालयमा आज आयोजित पत्रकार सम्मेलन मार्फत प्रतिवेदन सार्वजनिक गरिएको हो ।
संस्थाका अध्यक्ष बालकृष्ण गौतम, सचिव भोजकुमार राई, कोषाध्यक्ष रोशन दाहाल, सदस्य कविन्द्र गुरुङ, सल्लाहकार योगेन्द्र थापा लगायतले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरिएको प्रतिवेदनमा गत आर्थिक बर्ष सम्ममा संस्थाको शेयर पुँजी २ करोड ५५ लाख रुपैयाँ पुगेको उल्लेख छ । त्यसैगरी निक्षेप १२ करोड रुपैयाँ भई खुद बचत ४७ लाख रुपैयाँ रहेको जनाइएको छ । संस्थाले चालू बर्षमा शेयर पुँजी ३ करोड रुपैयाँ पुरयाउने लक्ष्य राखेको पनि प्रतिवेदनमा जनाइएको छ ।
संस्थाले यस बर्षदेखि सदस्यहरुका लागि राहत तथा सेवामुखी कार्यक्रमहरु पनि ल्याएको अध्यक्ष गौतमले जानकारी दिनु भयो । उहाँका अनुसार संस्थाका शेयर सदस्यको मृत्यु भएमा परिवारलाई नगद ५० हजार रुपैयाँ राहत दिने कार्यक्रम पनि ल्याएको छ ।
त्यस्तै शेयर सदस्यहरुका छोराछोरीलाई प्राविधिक शिक्षामा सहयोग गर्न एक लाख रुपैयाँ सम्म ब्याज अनुदानमा ऋण उपलब्ध गराइने प्रस्ताव समेत साधारण सभामा लगिने अध्यक्ष गौतमले जानकारी दिनु भयो । सो संस्थाको ९ औं साधारण सभा यही ८ असोजमा रोडस्टार पार्टी प्यालेस पाडाजुँगीमा गरिने जनाइएको छ ।
साधारण सभाका अवसरमा सदा बर्षझै यस बर्ष पनि उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, बाल बचत कर्ताहरुलाई पनि पुरस्कृत गर्ने कार्यक्रम रहेको संस्थाका व्यवस्थापक राजु थापाले बताउनु भयो ।