दमक/ सहकारी संस्था एकिकरणको आवश्यकता र महत्वको बिषयमा नगरभित्र रहेका सहकारीकर्मीका लागि एक दिने अभिमुखीकरण मंगलबार सम्पन्न भएको छ ।
दमक नगरपालिकाको सहकारी शाखाले आयोजना गरेको अभिमुखिकरणमा केन्द्रिय वचत तथा ऋण सहकारी संघका निवर्तमान कोषाध्यक्ष केशबप्रसाद पोखरेलले सहजिकरण गरेका छन ।
नगरभित्र सञ्चालित करिब एक सय भन्दा धेरै सहकारीका प्रतिनिधीहरु सहभागी कार्यक्रममा सहजकर्ता पोखरेलले संस्था आर्थिक रुपमा सम्पन्न, बलियो र आत्मनिर्भर बनाउन, सदस्यलाई प्रवाह गर्ने सेवाको गुणात्मक बृद्धि गर्न र संस्थाको स्थायीत्वका लागि पनि एकै प्रकृतिका र कार्यक्षेत्र रहेका सहकारी संस्थाहरुबीच एकीकरण राम्रो हुने सुझाए ।
वर्तमान अवस्थामा झन सहकारी संस्थाहरुबीच एकीकरणको आवश्यकता र औचित्य बढेको पोखरेलको भनाई छ ।
सहकारी संस्था एकिकरण गर्दा सञ्चालन खर्चहरु कम हुने, एउटै सञ्चालक समितिमा मात्रै खर्च हुने लगायतका फाईदा हुने भएकोले पनि सहकारी संस्थाहरु विच एकिकरण फाइदाजनक रहेको पोखरेलले बताए ।
संस्थाको व्यवसायीक क्षमतामा सुधार आउने बताउँदै उनले सहकारी सञ्चालनमा पारदर्शीताको अभाव खडकिनु सहकारी अभियानकै लागि दुखद भएको पनि उल्लेख गरे ।
दमक नगरपालिकाको सहकारी विकास बोर्डका संयोजक तथा वडा नम्बर ४ का वडाध्यक्ष पुण्यप्रसाद दाहालको अध्यक्षतामा भएको कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई, झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेमप्रसाद कोईराला, झापा जिल्ला वचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपाने, दमक नगरपालिकाका सहकारी रजिष्टार यज्ञराज निरौला लगायतको आतिथ्य रहेको दमक नगरपालीका सहकारी शाखा प्रमुख ईच्छाराम चौलागाईंले जानकारी दिए ।