दमक/ केहि दिनयता बर्षा भएपनि दशैंमा पानी पर्ने संम्भावना नरहेको मौसमविदको अनुमान छ ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार सोमबारबाट क्रमिक रुपमा सुधार हुँदै जाने छ ।
महाशाखाले हाल मनसुनी न्यून चापीय रेखा औसत स्थानबाट केही उत्तर तर्फ सरेको र भारतको गुजरात तथा अरब सागर आसपासमा न्यूनचापीय प्रणाली रहेको जनाएको छ । आज देशका पूर्वी र पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान शाखाले जनाएको छ ।
शाखाका अनुसार पूर्व र मध्यका केही र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ । पूर्व र मध्यका केही स्थानमा मेघगर्जनसहित चट्याङको सम्भावना छ । त्यसैगरी राति देशको पूर्व र मध्य भेगमा आंशिकदेखि सामान्य वदली रही बाँकि भूभागमा आंशिक वदली रहनेछ ।
त्यसैगरी भोली ( मंगलबार) पूर्व र मध्यका केहि र पश्चिमका थोरै स्थानहरुमा हल्का वर्षा हुनेछ । दिउँसो देशभर आंशिक बदली रही थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना छ ।
राति देशका पूर्व र मध्य पहाडी भुभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्व र मध्य पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने छ ।