दमक/झापाको दमकमा कार्यालय रहेको माओवादी अध्ययन केन्द्रले अध्ययन संस्कृतिको विकासका लागि सञ्चालन गरिरहेको लाईब्रेरीलाई थप व्यवस्थित बनाउन शुरु गरेको छ ।
दशैं, तिहार, छैठ लगायतका महत्वपूर्ण पर्वहरुको संयुक्त अवसर पारेर शुभकामना आदनप्रदान तथा अध्ययन केन्द्रलाई सहयोगी दाताहरुबाट प्राप्त पुस्तक हस्तान्तरण गर्न आयोजित कार्यक्रममा अध्ययन केन्द्रका अध्यक्ष रमेश गुरागाइँले जानकारी दिए ।
गुरागाइँले २०७० सालमा स्थापना गरिएको सो केन्द्रले विभिन्न किसिमका भौतिक पूर्वाधारहरुको अभावका बाबजुद बौद्धिक युवा पुस्तामा अध्ययन, विश्लेषण र विचार निर्माणमा योगदान दिने प्रयासलाई निरन्तरता दिईरहेको पनि जानकारी गराए । दमकको चियादोकान निवासी गणेश श्रेष्ठले सो केन्द्रको कार्यालयका लागि एउटा कोठा निशुल्क उपलब्ध गराएको र विभिन्न समयमा सो केन्द्रका लागि करिब ५ सय थान पुस्तक उपलब्ध रहेको पनि गुरागाइँले जनाएका छन् ।

कार्यक्रममा केन्द्रका लागि पछिल्लो समय दमक बहुमुखी क्याम्पसका दुई जना प्राध्यापक तथा वामपन्थी बुद्धिजीविहरुले उपलब्ध गराएका २० हजार भन्दा बढी मुल्य पर्ने ६९ थान पुस्तक समेत हस्तान्तरण गरिएको थियो । राधिका ओझाले आफ्नी छोरी डा. क्षमता सुवेदीको बैबाहिक खर्च कटौती गर्दै सो केन्द्रका लागि प्रदान गरेको नगद १० हजार रुपैयाँ र अखिलेश्वरलाल दासले उपलब्ध गराएका १० हजार ७ सय रुपैयाँ मुल्य पर्ने ति पुस्तक संयुक्त रुपमा केन्द्रका अध्यक्ष गुरागाइँ, उपाध्यक्ष डण्डीराज घिमिरे, सचिव भवानी दंगाल लगायतलाई हस्तान्तरण गरिएको हो ।
केन्द्रको कार्यालयबाट पुस्तक पढ्न ईच्छुक जोकोहीले ति पुस्तक निश्चित समयका लागि लैजान सक्ने र निश्चित समयपछि फिर्ता गर्नुपर्ने नियम राखिएको छ । कार्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न उपाध्यक्ष घिमिरेले एकथान दराज प्रदान गर्ने पनि सोही अवसरमा सार्वजनिक गरियो ।