दमक/ शुक्रबार आजदेखि दमक पशुहाटमा याक्थुङ साम्लो महोत्सव शुरु हुँदैछ । फक्ताङलुङ साँस्कृतिक मञ्च ललितपुरको आयोजनामा शनिबार सम्म हुने सो महोत्सवको उदघाटन किराँत याक्थुम चुम्लुङका केन्द्रिय अध्यक्ष प्रेम एक्तेनले गर्ने जनाइएको छ । महोत्सवस्थवलमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराइएको थियो ।
महोत्सवमा माङलाङ, केलाङ, येबारयेमालाको साथमा साँस्कृतिक पहिचानसहितको रर्याली निकालिँदैछ । महोत्सवमा लिम्बुहरुको मौलिकता झल्किने परम्परागत घरसहित विभिन्न सामग्रीहरु पनि प्रदर्शनमा राखिएको छ ।
आयोजक मञ्चका अध्यक्ष तथा कार्यक्रम संयोजक पूर्ण कुमार सेर्मा यादनले महोत्सवको पहिलो साँझ पालाम, हाक्पारे, ख्याली र धान नाँचको साथमा ख्यातिप्राप्त कलाकारहरु दिपक लिम्बू, मनु नेम्बाङ, ताराप्रकाश लिम्बू, शाहिल लिम्बू, गोविन्द लिम्बू, नोगेन लिम्बू, रुक्शाना लिम्बू, एकान्त लिम्बू र अन्य कलाकारले सांगीतिक प्रस्तुतिदिने जानकारी दिए ।
“याक्थुङ साम्लो साम्लोरिलो, साम्लोइ लोइ लाम्लोरिरो” मूल नारासहित सञ्चालन हुन महोत्सवको मुख्य उदेश्य लिम्बू समुदायभित्रको लोपन्मुख, गीत संगीत र कलालाई उजागर गर्दै यसको उत्थान, संरक्षण र सम्वद्र्धनसहित विश्वव्यापी प्रचारप्रसार गरिपछिल्लो पुस्तासम्म पुर्याउनु रहेको कार्यक्रम संयोजक विक्रम वनेम फागोले जानकारी दिए ।
प्रवेश निःशुल्क रहने महोत्सवमा १९ गते भने याक्थुङ साम्लोमा माङसिवाखाहुन र लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के विषयक दुईवटा कार्यपत्र प्रस्तुुत हुने जनाइएको छ । दमकको किरात भवनमा प्रस्तुत हुने औपचारिक कार्यक्रममा सो कार्यपत्र प्रस्तुत भई विज्ञ तथा जानकारहरुबाट सोमाथि टिप्पणी समेत हुनेछ ।
यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलो पटक पाँचथरको फिदिम र दोस्रो तेह्रथुमको म्याङलुङमा सम्पन्न भएको थियो ।
हाक्पारे पालाम महोत्सव नामले हाक्पारे र पालामलाई मात्र समेट्ने हुँदा व्यापक बनाउन तेस्रो संस्करणमा नाम परिवर्तन गरिएको आयोजकले जनाएको छ ।