दमक/झापा दमक ८ की प्रेनुसा पाण्डेले बालबालिका सम्बन्धी अन्तराष्ट्रिय फोरममा सहभागि हुने मौका पाएकी छिन् । उनी मंगलबार सोका लागि माल्दिभ्स तर्फ गएकी छन् ।
बालबालिका सम्बन्धी सार्कस्तरीय अन्तराष्ट्रिय फोरममा सहभागि हुनका लागि उनी सरकारी टोलीसहित त्यसतर्फ गएकी हुन् । उनी १७ देखि १९ अक्टोवरसम्म माल्दिभ्समा हुने सार्कस्तरिय फोरममा सहभागि हुने छिन् । फोरममा उनले सार्क राष्ट्रहरुका बालबालिकाहरुको विषयसहित आफ्mनो अवधारणा राख्ने छिन् । सो पछि उनी २० अक्टोवरमा नेपाल फर्किने जनाइएको छ ।
उनीसहित महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव,सहसचिव ,उपसचिव गरि एक दर्जन उच्चअधिकारीहरु सो फोरममा संलग्न हुनेछन् ।
काठमाण्डौमा नेपाल सरकार र कन्सोर्टियम नेपालले आयोजना गरेको राष्ट्रिय स्तरको छनौट प्रतियोगितामा देशभरिका प्रतियोगीहरु मध्ये उत्कृष्ट अवधारणा प्रस्तुत गरेर त्यस्तो अवसर प्राप्त गरेकी हुन् ।
उनलाई आठ देशको एकल वालिका छनौट गरिएको जनाईएको छ । यसअघि नेपालको पालो अबजरिङ मेम्बर मात्रै थियो भने प्रेनुसा मात्रै एक भाग्यमानी वालिका हुन जो एकैपटक ‘गवर्निङ मेम्बर ’मा छानिएकी हुन् ।
दक्षिण एशियामा बालबालिकाहरु बिरुद्ध हुने हिंसा अन्त्य गर्ने अभियानमा नेपालको प्रतिनिधित्व गर्दे आगामी दुई बर्षका लागि उनी छनौटमा परेकी हुन् । उनी दमकको झापा मोडल अंग्रेजी मावि ( जेम्स ) कक्षा १० मा अध्ययनरत छिन् ।