दमक/ झापाको दमक ३ मा जारी प्रथम दमक चुलाचुली कप फुटबल प्रतियोगिता अन्तर्गत आज भएको खेलमा कमल गाउँपालिकाको खेलकुद विकास समितिको टिम ४–० को फराकिलो गोल अन्तरले विजयी भएको छ ।

रोयल स्पोर्टिङ क्लब दमक २ लाई ४ –० को गोल अन्तरले हराउँदै कमलले जित हासिल गरेको हो ।
विजयी टिमका तर्फबाट खेलको २० औं मिनटमा सन्दिप बस्नेतले गोल गर्दै सुखद शुरुवात गरेका थिए भने ३६ औं मिनटमा विक्रम राई र ५६ औं मिनेटमा सनम भुजेलले एक – एक गोल गर्न सफल भएका खेल संयोजक कुमार गिरीले जानकारी दिनु भयो । सो खेलमा रोयलका तर्फबाट आत्मघाती एक गोल भएका कारण कमलले ४–० को जित हासिल गरेको हो । सो खेलको म्यान अफ दि म्याच कमलका सञ्जित राई घोषित भए ।
दमक नगरपालिका वडा नं ३ को वडा कार्यालयको संयोजन र नगरपालिकाको संरक्षकत्वमा भईरहेको सो प्रतियोगिता प्रथम दमक चुलाचुली कप प्रतियोगिता आयोजक समितिको आयोजनामा सञ्चालन गरिएको खेल संयोजक गिरीले जानकारी दिनु भयो । प्रतियोगिताका विजेताले नगद ५० हजार ५ रुपैयाँ र उपविजेताले नगद ३० हजार ५ रुपैयाँसहित ट्रफि , मेडल र प्रमाण पत्र हात पार्नेछन् ।
कार्तिक ९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा एक दर्जन टिम सहभागी हुनेछन् । दमक ३ का वडाध्यक्ष नविन बरालले खेलकुदका माध्यमबाट खेल प्रतिभाहरुको उजागर गर्ने र स्थानीयस्तरमै सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने समेत उदेश्य राखेर सो प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनु भयो ।

Facebook Comments Box