बुद्धिलाल धिमाल दमकमा स्थापित पुरानो शैक्षिक व्यक्तित्वको नाम हो । करीब ४० बर्ष लामो शिक्षण पेशाबाट ३/४ बर्ष अघि अवकाश पाएपछि धिमाल सामाजिक तथा सहकारीका क्षेत्रमा क्रियाशील हुनुहुन्छ । दमक २ निवासी धिमाल बुबा स्व. भाकुलाल धिमाल र आमा झरीमायाको कोखबाट २०११ साल जेठ ७ गते जन्मिनु भएको हो । उहाँँले दमकको कृष्ण निमाविबाट शिक्षण पेशा गरी पछिल्लो समय सरस्वती निमावि दमकबाट अवकाश लिनु भएको हो ।
उहाँ हाल दमक ४ स्थित लक्ष्मीबेराङ सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष र धिमाल जातीय विकास केन्द्र अन्तर्गतको कृषि तथा पर्यावरण एवम् सहकारी विभागको प्रमुख समेत रहनु भएको छ । लक्ष्मी बेराङ आफैंमा एउटा गर्विलो इतिहास बोकेको संस्था हो ।
यस संंस्थाका संस्थापक राम बहादुर धिमाल हुनुहुन्छ भने त्यसपछि पनि गिरिराज धिमाल, जित बहादु धिमाल र कृष्ण बहादुर धिमालले अध्यक्षको रुपमा नेतृत्व गरिसक्नु भएको छ । तर लामो समय सम्म यो संस्था निष्क्रिय प्राय रहेकोमा विगत ३/४ बर्षदेखि यसले आफ्नो आर्थिक तथा सामाजिक क्षेत्रमा प्रगती गर्दै गएको छ । यसको सवल नेतृत्व गरिरहनु भएको छ हालका अध्यक्ष बुद्धिलाल धिमालले ।
प्रस्तुत छ उहाँसंग निष्कर्ष न्यूजको सहकारी वार्ताका लागि गरिएको कुराकानीको सार–
धिमाल समुदायका आम मानिसहरुको वित्तिय क्षेत्रमा पहुँचको अवस्था कस्तो छ ?
हाम्रो धिमाल समुदायका मानिसहरु विगतमा प्राय शिक्षा र चेतनाको हिसावले कम्जोरनै थिए । अझै आर्थिक तथा वित्तिय ज्ञानको कमी नै थियो । तर पनि हरेक नागरिकलाई व्यवसायिक प्रयोजन होस वा घर खर्च चलाउने प्रयोजनका लागि रुपैयाँ पैसाको आवश्यक हुन्थ्यो । त्यस्तो अवस्थामा हाम्रो समुदायका धेरै महिला दिदीबहिनीहरु मात्रै नभएर पुरुष साथीहरु पनि आफ्नो आवश्यकता पुुरा गर्नका लागि विभिन्न वित्तिय संस्थाहरु खास गरि लघु वित्त संस्थाहरुमा आवद्ध हुनुभयो । तर त्यस्ता संस्थाहरुले हाम्रो समुदायका सोझा सिधा आम नागरिकहरुलाई झुक्याएर चर्को ब्याज असुलेर ठुलो मर्कामा पारे । हाम्रो समुदायले आफैं त्यसबेला सहकारी संस्थाको परिकल्पना गर्यो । हामीले त्यसैकारण यो संस्था २०५४ सालमा दमकको मेची सहकारी संस्थासंगै एकै दिन दर्ता गरेर ल्याएका हौं । अहिले यो संस्थाको माध्यमबाट हाम्रो समुदायका मानिसहरुलाई धेरैनै फाईदा पुगेको छ ।
अहिले सहकारी ऐन २०७४ पनि आएको छ अब यो सहकारीको अस्तित्व के होला ?
सहकारी ऐन त आएको छ । यो राम्रै कुरो हो । हामीलाई विश्वास छ कि लक्ष्मी बेराङ एउटा यहाँ दमकको पहिलो नागरिकको मातृभाषा प्रस्तुत गर्ने संस्था पनि हो । यसले हाम्रो धिमाल समुदायको पहिचानलाई दमकमा प्रस्तुत गर्न सफल भएको छ । यो संस्थाको नामको अर्थ हुन्छ लक्ष्मी माता । लक्ष्मी बेराङ आफैंमा एउटा पवित्र नाम छदैछ । त्यसका अलावा यसले काम पनि पवित्र किसिमको गरिरहेको छ । विगतमा नेतृत्वको भनौं वा हामी सबैको कम्जोरीका कारण जे भयो भयो तर अहिले यो सहकारीले वित्तिय क्षेत्रमा र सामाजिक क्षेत्रमा निक्कै फड्को मारिसकेको छ ।
लगभग सहकारी ऐन २०७४ ले तोकेको मापदण्ड हामीले पनि पुरा गरेका छौं । यदि नगरमा रहेका ९८ सहकारी मध्ये कथम कदाचित यसले शत प्रतिशत शर्त तथा मापदण्ड पुरा नभएको भएपनि धेरै प्रतिशत पुरा भएका कारण आम दमकबासीको पहिचान र गौरवका लागि पनि लक्ष्मीबेराङ सहकारी दमकमा रहनेछ र यसले छुट्टै पहिचानसंगै गौरव प्रस्तुत गर्नेछ भन्नेमा म विश्वस्त छु ।
लक्ष्मी बेराङको अहिलेको अवस्था चाहिं कस्तो छ ?
यो सहकारीले गत र्आिर्थक बर्षमा झण्डै ६ करोडको कारोबार गर्न सफल भएको छ । एक करोड बढी शेयर पुँजी छ भने यो संस्थामा झण्डै एक दर्जन स्थानीय युवायुवतीहरुले रोजगारको अवसर पाएका छन् । यसले हाल दमकमा मात्रै कारोबार गरिरहेको भएपनि साधन स्रोत व्यवस्थापन गरी जिल्लाभरीनै कारोबार गर्न सक्ने यसको कार्यक्षेत्र तोकिएको छ । यसमा करीब २ हजार १ सय सदस्यहरु आवद्ध हुनुहुन्छ । त्यस मध्ये महिला पुरुषको संख्या आधा आधा छ ।
यसले वित्तिय क्षेत्रबाहेक सामाजिक क्षेत्रमा चाहिं के गरिरहेको छ ?
हामीले पहिलो कुरा त वित्तीय संस्था भएकाले वित्तिय कार्यक्रमहरुनै बनाएका हुन्छौं । संस्थाले यसका अतिरिक्त हरेक बर्ष स्थापना दिवसमा रक्तदान कार्यक्रमम गर्ने गरेको छ भने बेला बेलामा सरसफाई, , आफ्ना सदस्यहरुको परिवारमा शोक पर्दा समवेदना व्यक्त गर्ने लगायतका काम गरि आएको छ ।
संस्थाले निकट भविष्यमा के गर्दैछ ?
हाम्रो संस्थाको सञ्चालक समितिको हालै बैठक बसेर विभिन्न निर्णयहरु गरेको छ । खास गरी हामीले संस्थाको हित र उन्नतीलाई नै प्राथमिकतामा राखेर निर्णयहरु गरेका छौं । यहि कार्तिक २८ गते संस्थाको बाषर््िाक साधारण सभा गर्दैछौं । साधारण सभामा संस्थाका उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, संस्थालाई प्रगतिमा डोहोरयाउने कर्मचारी वर्ग , सञ्चार क्षेत्रलाई प्रोत्सहन गर्ने हाम्रो कार्यक्रम छ । साधारण सभाका लागि नेत्रकुमारी धिमालको संयोजकत्वमा तयारी समिति गठन गरेका छौं । समितिका साथीहरुले यस बारेमा थप निर्णयहरु गर्नुहुनेछ । – ९ कार्तिक २०७६ को निष्कर्ष न्यूज साप्ताहिकबाट जस्ताको तस्तै)