दमक/  दमक– ६ स्थित मेची बहुउद्धेश्यीय सहकारी संस्थाको २८ औं बार्षिक साधारण सभा तथा ३० औं बार्षिकोत्सव सोमबारदेखि आउँदो १२ भाद्रमा सम्पन्न गर्ने गरि शुरु भएको छ ।
संस्थाले विभिन्न इकाईगत साधारणसभा सम्पन्न गर्दै भदौ १२ गते प्रमाणीकरण सभासहित सभा समापन गरिने जनाएको छ ।
संस्थाको सभाहलमा सोमबार संस्थाको सञ्चार उपसमितिको आयोजनामा भएको पत्रकार सम्मेलनमा आर्थिक बर्ष २०८१ ÷०८२ का उपलब्धिहरुको सार संक्षेप सार्वजनिक गरियो भने आगामी दिनमा संस्थाले लिएका नीति र कार्यक्रमका महत्वपूर्ण बिषयहरुबारे जानकारी गराइएको हो ।
कार्यक्रममा संस्थाले साधारणसभामा प्रस्तुत गरिने प्रतिवेदन समेत सार्वजनिक गरिएको थियो ।
संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले सुन्दरहरैंचामा यसबर्ष थप सेवा केन्द्र विस्तार गर्ने, कमल ७ स्थित इन्द्रेणी बहुउद्धेश्यीय सहकारी संस्थासँग एकीकरणको लागि छलफल गर्ने , मेची सहकारी आवास –२ सम्बन्धिको परियोजना सञ्चालन लगायतका प्रस्ताव शेयर सदस्यहरु माझ साधारण सभा मार्फत लगिने जानकारी दिए ।

पत्रकार सम्मेलनमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले आर्थिक बर्ष २०८०/ ०८१ मा कूल ३ अर्ब ८७ करोड, ८६ लाखको वासलात तयार भएको जानकारी दिँदै शेयर पुँजी ३७ करोड १८ लाख , विभिन्न कोषहरुमा ३४ करोड, ८४ लाख रुपैयाँ जम्मा भएको उल्लेख गरे ।
पत्रकार सम्मेलनमा सञ्चार उपसमितिका संयोजक नरपति पाण्डेको अध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष पदम थापाले स्वागत मन्तव्य राखेका थिए ।
सो कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष रोमनाथ ओली लगायत विभिन्न बिषयगत समिति र सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
यसैगरि, सोमबारनै साधारणसभाको पूर्वनिर्धारित कार्यक्रम अनुसार दमक १,२,५,६ ,७ र ८ वडाका सदस्यहरुलाई लक्षित गरि इकाईस्तरको साधारणसभा गरिएको छ ।
सो सभामा संस्थाले तयार पारेको प्रतिवेदन प्रस्तुत गरिनुका साथैं उत्कृष्ट सदस्यहरुलाई पुरस्कृत गरिएको संस्थाका सचिव राजेन्द्र प्रसाद दाहालले दिए ।

बुझायो ३ करोड कर
संस्थाले विभिन्न शीर्षकमा यसवर्ष सरकारलाई ३ करोड २१ लाख ९ हजार ५६२ रुपैया कर तिरेको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेका अनुसार जिल्ला भित्रका सहकारीहरु मध्ये मेचीले अघिल्ला वर्षझै यसवर्ष पनि सम्भवत जिल्लामै सबैभन्दा धेरै कर बुझाएको हो । जस अनुसार कर्मचारीको पारिश्रमिकक वापत ८ लाख १३ हजार ५ सय ४०, व्याजकर वापत १ करोड ३९ लाख २७ हजार ४८ रुपैया , आयकर वापत १ करोड ८८ लाख ४ हजार ९ सय १४ रुपैया कर बुझाएको उनले जनाएका छन् ।
पत्रकार काफले र अधिकारी पुरस्कृत हुदै
संस्थाले साधारणसभाका अवसरमा बर्षेनी प्रदान गर्दै आएको दुई पत्रकारिता पुरस्कारबाट साझा मञ्च अनलाइनका सम्पादक गोपाल काफले र दमकका सुदिप अधिकारीलाई पुरस्कृत गरिने घोषणा गरेका छन् । काफ्लेलाई संस्थाका पूर्व अध्यक्ष गणेशप्रसाद बस्नेतको स्मृतिमा स्थापित गणेशप्रसाद बस्नेत पत्रकारिता पुरस्कार र अधिकारीलाई मेची सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिने जनाएको हो ।
उनीहरुसहित गणेशप्रसाद बस्नेत उत्कृष्ठ सहकारी अभियान्ता पुरस्कारबाट यसवर्ष भने नेफ्स्कुनका पूर्व अध्यक्ष ऋषिराज घिमिरेलाई प्रदान गरिने निर्णय भएको जनाइएको छ । नगद तथा प्रमाणपत्रसहित वितरण गरिने पुरस्कार संस्थाको प्रमाणीकरण सभाका अवसरमा प्रदान गरिनेछ ।

Facebook Comments Box