दमक/ उर्लाबारीमा मुख्य कार्यालय स्थापना गरी झापामा समेत सेवा केन्द्र मार्फत वित्तीय कारोबार गर्दै आएको सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले शुरु गरेको इकाइगत बार्षिक साधारण सभाको औपचारिक समापन गरिएको छ ।
असोज १७ गते बाट सुरु भएको इकाई गत साधारणसभा अन्तर्गत यसअघि दमक, पथरीशनिश्चरे र मिक्लाजुङको मधुमल्लामा सम्पन्न गरेर शनिबार उर्लाबारीस्थित जय बशिष्ट रिसोर्टमा समापन कार्यक्रम गरिएको हो ।
जिल्ला सहकारी संघ मोरङका सचिव राकेश दाहालको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष गोपाल भट्टराईको अध्यक्षतामा निर्णय एकीकरण तथा माइन्यूट प्रमाणिकरणसहितको सभा सम्पन्न गरिएको संस्थाका प्रमुख कार्यकारी अधिकृत थरेन्द्रराज पौडेलले जानकारी दिए ।
सो समापन कार्यक्रममा दमक ६ का वडाध्यक्ष टेकबहादुर थापा , उर्लाबारी वडा नं ३ वडाध्यक्ष भिष्म बुढाथोकी र पथरीशनिश्चरे नगरपालिका वडा नं ७ वडाध्यक्ष उद्धबराज बस्नेत, राष्ट्रिय सहकारी बैंक लि.का प्रदेश प्रमुख प्रभु पोखरेल लगायतले शुभकामना मन्तव्य राख्दै निम्न तथा मध्यमवर्गीय समाजमा सहकारी अभियानको आवश्यकता र औचित्य धेरै भएको उल्लेख गरे ।
सहकारी संस्थाहरुले ठुलो कारोबारलाई भन्दा साना साना पुँजीको संकलन र संस्थाका सदस्यहरुलाई आयमुलक उद्यम, व्यवसायमा प्रेरित गर्न सक्नुपर्ने वक्ताहरुको सुझाव छ ।
सो अवसरमा संस्थाका उत्कृष्ट शेयर सदस्यहरु ६० जना उत्कृष्ट बाल बचतकर्ताहरु १०० जनालाई पुरस्कृत गरिएको थियो । त्यस्तै एसइइ परीक्षामा उत्कृष्ट जीपिए हासिल गर्ने एक जनालाई १० हजार रुपैयाँ छात्रवृत्ति रकम प्रदान गरिएको छ ।


संस्थाका लेखा संयोजक राजु तिम्सीनाले स्वागत गर्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सञ्चालन संस्थाका सञ्चालक समिति सचिव घनश्याम भण्डारीले गरेका थिए । संस्थाको बार्षिक साधारण सभाले सञ्चालक समिति र लेखा समितिबाट प्रस्तुत दुवै बार्षिक प्रतिवेदनहरु सुझावसहित पारित गरेको जानकारी दिइएको छ ।
प्रतिवेदनमा जनाइए अनुसार सो संस्थाको शेयर सदस्य कल्याणकारी योजना अन्तर्गत गत आर्थिक बर्षमा ४४ जना शेयर सदस्यहरुलाई कूल २ लाख ५८ हजार रुपैयाँ राहत रकम प्रदान गरिएको छ । संस्थाले यो योजना अन्तर्गत सन्तान प्राप्ती खुशीयालीमा एक हजार रुपैयाँ, मृतक राहत योजनामा ४५ हजार सम्म, प्राकृतिक प्रकोपमा २० हजार सम्म, शल्यक्रिया राहत ७ हजार सम्म, स्वास्थ्य सुधार राहत १ लाख सम्म अङगभङग राहत २ लाख सम्म र अशक्त राहत योजनामा २५ हजार सम्म संस्थाले प्रदान गर्दै आएको छ ।

 

 

 

Facebook Comments Box