दमक/ झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले २४ औं वार्षिक साधारणसभा सुरु गरेको छ ।
कोशी प्रदेशका झापा, मोरङ र इलामलाई कार्यक्षेत्र बनाएको संस्थाले साधारणसभा सम्बन्धी नीतिगत व्यवस्था अनुसार आफ्ना ४१ वटा सेवा केन्द्रहरुलाई ७ वटा इकाइमा विभाजन गरी आइतबारदेखि इकाइगत साधारणसभा सुरु गरेको हो ।
सो अन्तर्गत सोमबार दमक ईकाईको साधारण सभा सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष टसबहादुर श्रेष्ठको अध्यक्षता तथा दमक नगरपालिका सहकारी शाखाकी नायब सुब्बा सरिता कटुवालको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा दमक सहित नमुना, लखनपुर, क्याम्पा, गौरादह, र जुरोपानी गरी ६ वटा सेवा केन्द्रका सेयर सदस्यहरु सहभागी रहेका थिए ।
साधारणसभामा संस्थाका अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८०/०८१ को असार मसान्तको वास्तविक वित्तीय विवरण प्रस्तुत गरे ।
गत असार सम्ममा ५६ हजार ६६८ जना शेयर सदस्यहरुबाट ५१ करोड ९३ लाख ७५ हजार ७०० रुपैयाँ शेयर पूँजी तथा निक्षेप बचत २ अर्ब ७८ करोड ८३ लाख ९४ हजार ११० रुपैंयाँ रहेको प्रतिबेदनमा जनाईएको छ ।
कर्णाली सहकारीमा आवद्ध शेयर सदस्यहरुमध्ये १५ हजार ३५० जनाले संस्थाबाट ऋण कारोबार गरिरहेको र ३ अर्ब ७६ करोड ऋण लगानीमा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
संस्थागत पूँजी १५ करोड ६२ लाख ९८ हजार ४७२ रुपैंयाँ रहेको संस्थाको कोषमा ५४ करोड ७७ लाख ६१ ह्जार ६१६ रुपैयाँ रहेको, जसमध्ये १७ करोड २४ लाख ९० हजार २२९ रुपैयाँ आवश्यक परेको समयमा निकाल्न सकिने र ३७ करोड ५२ लाख ७१ हजार ३७८ रुपैयाँ संस्थामा मौज्दात रहने उल्लेख छ ।
साधारणसभामा लेखा सुपरिवेक्षण समितिको संयोजक मनकुरमा बेघाले लेखा प्रतिवेदन र कोषाध्यक्ष तथा ऋण उप समिति संयोजक एकराज विष्टले ऋण उप समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभामा प्रस्तुत भएका प्रतिवेदन माथि सदस्यहरुले छलफल गरी सुझाव सहित पारित गरिएको थियो । यस अघि हिँजो आईतबार बिर्तामोड क ईकाईको साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाको अवसरमा संस्थाको विशेष उपचार कोषमा आवद्ध सदस्य र तिनको परिवारमा बिरामी भई उपचार गर्दा भएको रकम समेत हस्तान्तरण गरिएको थियो । आगामी दिनमा बाँकी ५ वटा ईकाईमा साधारणसभा गरि आगामी मंसिर १४ गते बिर्तामोडमा माईन्युट लेखन प्रमाणीकरण गरि यस बर्षको साधारणसभा सम्पन्न गर्ने कार्यक्रम रहेको संस्थाले जनाएको छ ।

Facebook Comments Box