दमक/ झापाको दमकस्थित दमक बहुमुखी क्याम्पसका स्नातक तह अध्ययनरत १० जना बिद्यार्थीहरुको शैक्षिक निरन्तरताका लागि हेल्पिङ हेण्डले वर्क फर नेपाल मार्फत कूल १ लाख १० हजार रुपैयाँ छात्रवृत्ती रकम प्रदान गरेको छ ।
दमक बहुमुखी क्याम्पस शिक्षा विभागको संयोजनमा आइतबार क्याम्पसमा आयोजित संक्षिप्त कार्यक्रमबीच स्नातक तहमा अध्ययनर विभिन्न संकायका १० जना विपन्न तथा जेहेन्दार छात्रछात्रालाई जनही ११ हजार रुपैयाँका दरले छात्रवृत्ती वापतको सो रकम बराबरको बैंकिङ चेक प्रदान गरिएको हो ।
क्याम्पसको शिक्षा विभाग संयोजक कल्पना खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा वर्क फर नेपालका अध्यक्ष तिलचन्द्र अधिकारीले सो संस्थाले गर्दै आएका कार्यक्रमबारे संक्षेपमा प्रकाश पारेका थिए भने क्याम्पस सञ्चालक समिति सदस्य शेरबहादुर भट्टराईको प्रमुख आतिथ्यमा छात्रवृत्ति वापतको रकम हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा प्रमुख अतिथी भट्टराइसँगै सञ्चालक समिति सदस्य नरहरी दाहाल , दमक बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख राम भण्डारी, प्राध्यापक डिल्ली भट्टराई लगायतले दातृ संस्थाको सो सहयोग बिद्यार्थीहरुको शैक्षिक निरन्तरताका लागि महत्वपूर्ण भएको भन्दै प्रशंसा गरे ।
उनीहरुले सामुदायिक क्याम्पस भएकाले यस क्याम्पसमा अध्ययनरत सयौं बिद्यार्थीहरुको अध्ययनमा निरन्तरताका लागि यस किसिमको सहयोग आवश्यक रहेको औंल्याए ।
दाता संस्थाको सो सहयोग ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेका वर्क फर नेपालका अध्यक्ष अधिकारीका अनुसार हेल्पिङ्ग हेण्ड अमेरिकामा केन्द्रीय कार्यालय रहेको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हो । यसले झापामा वर्क फर नेपालसँग सहकार्य गरेर कार्यक्रम गञ्चालन गरि आएको छ भने अन्य जिल्लाहरुमा अन्य संस्थाहरुसँग सहकार्य गरेर देशैभर यस किसिमका सेवामुलक कार्यक्रमहरुलाई अघि बढाई रहेको छ ।

 


Facebook Comments Box