दमक/   झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानको व्यवस्थापन फेरिएसँगै बगानमा कार्यरत मजदुरहरुलाई सहज भएको छ । हिमालय गुडरिक हुँदै हाल सोल्टी ग्रुपको व्यवस्थापनमा सञ्चालित महालक्ष्मी चिया बगानमा ठुलो संख्यामा चिया मजदुरहरु कार्यरत छन् ।
करिब २८० जना चिया मजदुर कार्यरत रहेको यस बगानमा सोल्टी ग्रुपबाट श्यामल सुब्बा व्यवस्थापकका रुपमा नियुक्त भएर आएपछि चिया मजदुर र कर्मचारीहरुको समस्यालाई नजिकबाट हेर्ने गरेको र पहिल्यैदेखि भोग्दै आएको समयमा ज्याला नपाउने समस्याको अन्त भएको मजदुरहरुको भनाई छ ।
बगानका मजदुरहरु यतिबेला भनिरहेका छन – बिग्रिएको बगान अब सुध्रियो, पारिश्रमिक पाउनैका लागि आन्दोलन गर्नुपर्ने बाध्यताको अन्त्य भयो ।
चियबगानमा कार्यरत मजदुर दिलकुमारी भुसालले भनिन् – पहिला पहिला दिनहुँ काम गरेर पनि तलब पाउन आन्दोलन गर्नुपर्ने हुन्थ्यो अहिले त्यस्तो अवस्था छैन ।
समयमा सबैले तलब पाइरहेका छौं । गाह्रो,साह्रोमा कति दिन सम्म भोकै बस्नु पर्ने बाध्यता पनि थियो तर अहिले त्यो अवस्था छैन इमान्दारसाथ काम गरिरहेका वास्तविक मजदुरहरुले कुनै अप्ठ्यारो पर्दा पेश्की तलब पनि लिन पाइरहेका छौं – बगानमा कार्यरत अर्की मजदुर तुलसा सुनुवारले भनिन् ।
बगानमा कार्यरत मजदुरहरुको घर मर्मत सम्भार गर्नुपरेको अवस्था र कुनै प्राकृतिक विपत्ती आइपर्दा , आकस्मिक घट्ना, दुर्घटना हुँदा उपचारका लागि पनि बगान व्यवस्थापनले सहजीकरण गरि सहज बनाइदिने गरेको मजदुर नेता गोपाल खड्काले बताए । –
बगानका व्यवस्थापक श्यामल सुब्बाका अनुसार दमक ४ र ९ मा रहेका करिब डेढ दर्जन मजदुरका घरहरुमा पछिल्लो समय आवश्यक मर्मत सम्भारको काम गरिएको छ ।
बगानमा कार्यरत अर्की महिला कर्मचारी अम्बिका थापाले सो बगानमा पहिला पहिला मजदुरहरुले झेल्दै आएका धेरै समस्याहरुको समाधान भएको र यस किसिमबाट बगान अघि बढेको खण्डमा बगान र बगानमा आश्रित मजदुरहरु दुवै पक्षलाई फाइदा पुग्ने बताइन् ।
पूर्व पश्चीम राजमार्गको उत्तर र दक्षिण दुवै तर्फ गरेर सो ठाउँको करिब ६ सय बिगाहा क्षेत्रफलमा चिया खेती हुँदै आएको छ । बगान क्षेत्र भित्रनै चिया प्रशोधनको कारखाना समेत सञ्चालनमा रहेको छ । यहाँको चियाको गुणस्तर समेत राम्रो भएकाले अन्तराष्ट्रिय बजार निर्यात हुने गरेको बगान व्यवस्थापनले जनाएको छ ।
बगानको व्यवस्थापन पक्षले कुनै पनि मजदुर तथा कर्मचारीहरुलाई हटाउने नीति नरहेको स्पष्ट पार्दै सो बिषयमा कतिपय अनगर्नल प्रचारहरु गरेर मजदुरका नाममा फाइदा उठाउने गिरोहले विभिन्न लान्छनाहरु लगाउने र मजदुरहरुलाई न्याय दिने बहानामा समस्या उत्पन्न गराउन खोज्ने गरेको आरोप छ ।

 

 

 

Facebook Comments Box