कमल / झापाको कमल ५ पाडाजुँगीमा मुख्य कार्यालय स्थापना गरि वित्तीय कारोबार गर्दै आएको चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्थाले १४ औं बार्षिक साधारण सभा शुक्रबार सम्पन्न गरेको छ ।
संस्थाले आफ्नै सभाकक्षमा औपचारिक कार्यक्रम गरेर बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
सभामा संस्थाका अध्यक्ष शेरबहादुर श्रेष्ठले सञ्चालक समितिका तर्फबाट बार्षिक प्रतिवेदन र लेखा समिति संयोजक प्रेम दुलालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । ति दुवै प्रतिवेदन सुझावसहित पारित गरिएको संस्थाका व्यवस्थापक भुपाल बस्नेतले जानकारी दिए ।
साधारण सभाको उदघाटन गर्दै जिल्ला सहकारी संघका सञ्चालक सदस्य विनोद ढकालले बिषम परिस्थितीका बाबजुद सहकारी संस्थाहरुले आफ्नो गतिबिधिलाई सक्रिय बनाइरहेको बताए । उनले सहकारी मुल्य मान्यता भित्र रहेर संस्था सञ्चालन गर्न सञ्चालक, कर्मचारीहरु बढी जिम्मेवार हुनुपर्ने उल्लेख गरे ।

संस्थालाई अपठ्यारो परेको अवस्थामा संस्थाका शेयर सदस्यहरु एकताबद्ध भएर त्यसको सामना गर्नुपर्ने उनको सुझाव थियो ।
संस्थाका अध्यक्ष शेर बहादुर श्रेष्ठले देशमा आर्थिक चलायमान हुन नसक्दा र विगतमा संस्थाको सञ्चालक समिति निस्क्रिय रहेको अवस्थामा कतिपय कर्मचारीहरुबाट भए गरेको त्रुटीलाई सच्याउँदै अहिले संस्थाको कारोबारलाई नियमित गरिएको जानकारी गराएका थिए ।
संस्थाकी कोषाध्यक्ष देवीका भण्डारीले स्वागत मन्तव्य राखेको सो साधारण सभाको सञ्चालन सचिव सञ्जय कुमालले गरेका थिए ।
सो संस्थाले गत आर्थिक बर्ष २०८०, ०८१ सम्ममा कूल शेयर पुँजी २ करोड ८४ लाख रुपैयाँ पुगेको र चालू आर्थिक बर्षमा ३ करोड ३० लाख पुरयाउने लक्ष्य लिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै संस्थाले बचत रकम १६ करोड पुरयाउने लक्ष्य लिएको जनाइएको छ ।
संस्थाले गत पुष २४ गतेदेखि सेवा केन्द्रहरुमार्फत बार्षिक प्रतिवेदन उपलब्ध गराएर आज माइन्यूट प्रमाणिकरण तथा निर्णय एकीकृत गर्दै साधारण सभा सम्पन्न गरेको संस्थाका उपाध्यक्ष प्रेम कार्कीले जानकारी दिए ।