दमक/ कवि शिरोमणी लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्ती झापाको दमकमा मनाइएको छ । साहित्य कला संगमद्वारा १४१ औँ लेखनाथ जयन्ती तथा पुरस्कार अर्पण समारोह सम्पन्न भएको हो ।
सङ्गमका पूर्वअध्यक्ष, स्वर्गीय रुद्र निरौलाको स्मृतिमा स्थापित रुद्र निरौला स्मृति पुरस्कार २०८१ द्वारा इलामकी कवि रिता पोख्रेल पुरस्कृत भएकी छिन् । त्यस्तै सङ्गमकै सञ्चालक सदस्य विरेन्द्रकुमार खड्काले आफ्ना मातापिताका नाममा राख्नुभएको चन्द्रवीर खड्का स्मृति पुरस्कार २०८१ म्याराथन धावक सरोज सिंहलाई अर्पण गरिएको छ ।
दमक ७, र ६ को सङ्गममा रहेको कवि शिरोमणि लेखनाथ पौडेलको शालिकमा माल्यार्पण गरी पौडेल वंश उत्थान प्रतिष्ठानको सभाहलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको यो कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष, हास्यव्यङ्ग्य कवि, लक्ष्मण गाम्नागेको प्रमुख आतिथ्य रहेको थियो ।
संस्थाका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षता महासचिव दीपक सुवेदीले सञ्चालन र उपाध्यक्ष बिन्दु दाहाल मूकदर्शकले स्वागत मन्तव्य राखेसँगै सुरुभएको कार्यक्रममा विभिन्न स्रष्टाहरुले कवि शिरोमणि लेखनाथ पौडेललाई सम्झँदै रचनाहरू प्रस्तुत गर्नुभएको थियो ।
रचना वाचन गर्नुहुनेमा तुलसीप्रसाद भट्टराई, दुर्गा सिग्देल, दिलिप राई सगर, विवेक दुलाल क्षेत्री, शारदा निरौला, राम उपाध्याय नेपाल लगायतका कविहरू हुनुहुन्थ्यो ।
कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका निवर्तमान अध्यक्ष हेमनाथ अधिकारी, साहित्यकार जीवनहरि शर्मा, प्रतिभा निकेतन दमकका अध्यक्ष कमलराज भट्टराई र गौरादह जेसीजका अध्यक्ष खड्ग बहादुर थापाले शुभकामना मन्तव्य दिनुभएको थियो ।
प्रमुख अतिथि लक्ष्मण गाम्नागेले सङ्गमले गरेका कामहरूको प्रशंसा व्यक्त गर्नुभएपछि दुईवटा व्यङ्ग्य कविताहरू सुनाउँदै सबैलाई मनोरञ्जन प्रदान गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष यादव अधिकारी झाँक्रीखोले, सदस्य डाक्टर लेखनाथ न्यौपाने , सदस्य मेघनाथ बन्धु खेमलाल पोखरेल, गोपाल दाहाल, शिशिर भट्टराई, डिल्लीराम निरौला, अम्बिकाप्रसाद सापकोटा, सीता ढुङ्गेल, खड्गबहादुर खड्का, एन.वी. दाहाल लगायत ६७ जना साहित्यकारहरूको उपस्थिति रहेको थियो ।