दमक/  नेकपा एमाले कमल गाउँ कमिटीको आयोजनामा अन्तर वडास्तरीय नक आउट प्रथम कमल एमाले कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा आज बुधबारबाट सञ्चालन भएको पहिलो खेलमा वडा नम्बर ६ लाई २ गोलका विरुद्ध ३ गोल गर्दै वडा नम्वर २ बिजयी भएको छ ।
निर्धारित समयमा दुबै टिम बाट गोल रहित बरावर भएपछि ट्राई ब्रेकरमा वडा नम्वर २ विजयी भएको हो ।

त्यस्तै आज भएको दोश्रो खेलमा वडा नम्बर ४ लाई शुन्यका विरुद्ध ३ गोल गर्दै वडा नम्वर ७ विजयी भएको छ ।
भोलिको खेल वडा नम्वर १ र वडा नम्वर ३ बिच दिनको दुई बजे खेल हुने छ भने विजयी टिमसंग अपरान्ह ३ बजे वडा नम्वर ५ ले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उदघाटन संविधान सभा सदस्य समेत रहेका नेकपा एमालेका केन्द्रिय सदस्य दिपक कार्कीले गर्दै नेकपा एमालेले रचनात्मक कार्यक्रम मार्फत युवाहरुलाई पार्टीसंग जोड्ने कार्यक्रम ल्याएकोमा धन्यवाद व्यक्त गरे ।
प्रतियोगित उदघाटनका समयमा नेकपा एमालेका केन्द्र, प्रदेश र पालिकाका नेताहरुको समेत उपस्थिती रहेको थियो ।
नेकपा एमालेका पार्टी सदस्यले मात्र खेल्न पाउने गरी सञ्चालन गरिएको प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र पाउने छ भने दोश्रो हुने टिमले नगद १५ हजार रुपैयाँ सहित ट्रफी र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ ।

त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले ३ हजार नगद सहित कप र प्रमाणपत्र पाउने छन् त्यस्तै वेस्ट स्ट्राइकर ,वेष्ट मिडफिल्डर, वेष्ट गोल किपर, वेस्ट डिफेन्डर र म्यान अफ द सिरजले नगद २ हजार रुपैयाँ सहित कप र प्रमाणपत्र पाउने नेकपा एमाले कमल गाउँ कमिटीका अध्यक्ष हरि ढकालले जानकारी दिए ।
नेकपा (एमाले), केन्द्रिय कमिटीले माघ, फागुन र चैत्र तीन महिना वडा केन्द्रित जरा अभियान सञ्चालन गरिरहेको र अभियान अन्तर्गत बिभिन्न सङ्गठन निर्माणका साङ्गठनिक कार्यका अतिरिक्त एक रचनात्मक कार्य गर्न निर्देशन भए बमोजिम कमल गाउँ कमिटीले पहिलो पटक युवाहरू बिच फुटबल प्रतियोगिता गरेकाले यसको विशेष महत्व रहेको एमाले केन्द्रिय कमिटी सदस्य कार्कीले बताए ।

Facebook Comments Box