शिवसताक्षी/ झापाको शिवसताक्षी नगरमा यही चैत्र २१ देखि २८ गते सम्म ६ किसिमका खेलको मेयर कप प्रतियोगिता सञ्चालन गरिने भएको छ । नगरपालिका मातहतको शिवसताक्षी नगर खेलकुद बिकास समितिको आयोजनामा झिलझिलेमा हुने विभिन्न ६ वटा बिधाका खेलकुद प्रतियोगिताका बिषयमा आज पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।
मेयर कप अन्तर्गत फुटबल , भलिबल र क्रिकेट प्रतियोगिता पुरुष तर्फ मात्रै हुनेछ भने एथ्लेटिक्स , ब्याडमिन्टन र कराँतेमा महिला पुरुष दुवै खेलाडी सहभागी हुनेछन् ।
सो प्रतियोगिताका लागि नगरका ११ वटै वडाबाट खेलाडीहरु छनोट भएर आउने जनाइएको छ । नगर खेलकुद बिकास समितिका अध्यक्ष सुरज रिङगालुङ राईले शिवसताक्षी नगरको पहिचान जस्तै बनिसकेको खेलकुदको बिकास र खेलाडीहरुको प्रतिभा प्रोत्साहनमा यस किसिमका प्रतियोगिताले महत्वपूर्ण योगदान दिन सक्ने विश्वास लिइएको बताए ।
पत्रकार सम्मेलनमा सो प्रतियोगिताका सहभागी टिमहरुको खेल तालिका समेत सार्वजनिक गरिएको छ । एन्फाका रेफ्री नरविर लिम्बुले फुटबल, भलिबल र क्रिकेटको खेल तालिका सार्वजनिक गरे । नगरपालिकाका लेखा प्रशासन प्रमुख लेखा अधिकृत प्रकाश योङहाङको प्रमुख उपस्थितीमा नगरस्थित जनप्रतिनिधिहरु, वडास्तरीय खेलकुद बिकास समितिका संयोजकहरु लगायत सञ्चारकर्मीहरुको रोहबरमा खेल तालिका सार्वजनिक गरिएको हो ।
सो प्रतियोगितामा फुटबल तर्फ विजेताले नगद ५५ हजार, उपविजेताले ४१ हजार, भलिबल तर्फ बिजेताले नगद ३५ हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउनेछन् । त्यस्तै एथ्लेटिक्स , कराँते र ब्याडमिन्टन तर्फको खेल सञ्चालनका लागि नगद ५०÷५० हजार रुपैयाँका दरले बजेट विनियोजन गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय झिलझिलेका इञ्चार्ज प्रहरी निरिक्षक सुसिल थापा मगर, नगरपालिकाको जिन्सी शाखाका प्रमुख कुबेर योङहाङ, वडा सदस्य लासाङ लामा लगायतले पनि शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा फुटबल प्रतियोगितामा हरेक खेलका म्यान अफ द म्याचलाई प्राइम बैंकले २ हजार १ सयका दरले पुरस्कार दिने बैंकका झिलझिले शाखा प्रमुख दिनेश लुइँटेलले घोषणा गरेका छन् ।