दमक/ झापाको शिवसताक्षी १ धरमपुरस्थित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १६ औं स्थापना दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रम गरेको छ ।
संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समुदायमा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने क्रममा गर्दै आएको रक्तदान कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएको हो । संस्थाका व्यवस्थापक विनोद ढकालका अनुसार धरमपुर चोकमा आयोजना गरिएको खुल्ला रक्तदानमा संस्थाका सञ्चालक समिति, कर्मचारी , शेयर सदस्य तथा इच्छुक रक्तदाताहरु समेत १५ महिलासहित कूल ५६ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राबिधिक सहयोगमा सञ्चालित रक्तदानमा संस्थाका अध्यक्ष कुमार शंकर र व्यवस्थापक ढकालले सहभागी रक्तदाता तथा सहयोगी संस्थाहरुलाई धन्यवाद व्यक्त गरे ।


धरमपुर चोकमा मुख्य कार्यलय स्थापना गरी शिवसताक्षी नगर भित्र सदस्यहरु माझ वित्तीय कारोबार गर्दै आएको धरमपुर बचत तथा ऋण सहकारी संस्थाको बार्षिक वासलात करिब ८ करोडको रहेको छ । संस्थाले ऋण लगानी ७ करोड हाराहारीमा गरेको छ भने बचत ५ करोड रुपैया रहेको र सेयर सदस्य ४ सय ४५ जना रहेका संस्थाका व्यवस्थापक ढकालले जानकारी दिए । सो संस्थाले स्थापना कालदेखिनै यसअघि कोरोना माहामारी, भुकम्प, बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपमा परेकाहरुलाई राहत सहयोग प्रदान गरेको थियो भने नगर भित्रका सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा, बिद्यालय पोशाक, ब्याग तथा शैक्षिक सामग्रीहरु समेत सहयोग गर्दै आएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत त्यस किसिमका सहयोग तथा राहतका कार्यक्रमहरु सञ्चालन गरिआएको व्यवस्थापक ढकालले बताए । यसैबीच स्थापना दिवसको अवसरमा संस्थाका तर्फबाट शुभकामना सन्देश जारी गरिएको छ । संस्थाले जारी गरेको सन्देशमा संस्थालाई यस अवस्थामा ल्याई पुरयाउन योगदान गर्ने सम्पूर्ण सदस्यहरु, कर्मचारी , नियमनकारी निकाय, सरोकारवालाहरु सबैप्रति धन्यवाद तथा आभार प्रकट गरिएको छ ।

Facebook Comments Box