दमक/ अग्र्यानिक मच्छड धुप बनाउने, बजारिकरण र ब्रान्डिङ सम्बन्धी १० दिने तालिम बुधबारदेखि दमकमा सुरु भएको छ। दमक नगरपालिकाको आर्थिक सहयोगमा तथा दिव्यदृष्टि भेनेरेसन एण्ड एग्रो कन्सर्नको आयोजनामा सुरु भएको तालिममा २० जना एकल महिला सहभागी छन्।
तालिम उद्घाटन कार्यक्रममा नगरप्रमुख रामकुमार थापा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै, यस्ता सीपमूलक तालिमले महिलालाई आत्मनिर्भर बनाउने दिशामा सशक्त योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा उपप्रमुख रेगिना भट्टराईले महिलालाई आर्थिक रूपमा सक्षम बनाउने यस्ता कार्यक्रमहरूको प्रभावकारितामाथि जोड दिनुभयो।
आयोजक संस्थाका अध्यक्ष विष्णुप्रसाद पोखरेलले अग्र्यानिक धुप उत्पादनमार्फत घरेलु उद्योग विस्तार र रोजगारी सिर्जनामा तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
संस्थाकी सञ्चालिका तथा कार्यकारी प्रमुख बबिता तिम्सिनाले दिव्यदृष्टिले महिलाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ विभिन्न व्यावसायिक तालिमहरु सञ्चालन गर्दै आएको जानकारी दिनुभयो।
कार्यक्रम सञ्चालन दमक नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरिता भण्डारीले गर्नुभयो।
तालिममा सहभागी महिलाहरुलाई उत्पादन प्रक्रियासँगै प्याकेजिङ, ब्रान्डिङ तथा बजार व्यवस्थापनका विविध पक्षमा व्यवहारिक ज्ञान प्रदान गरिनेछ।