दमक/ झापा, दमकका पुराना शैक्षिक तथा सामाजिक व्यक्तित्व कोमलराज प्रसाईले आफ्नो जीवन भोगाईका अनुभवहरुलाई पुस्तकमार्फत बजारमा ल्याएका छन् । उनले ‘जीवन यात्रा ’ नामक कृति मार्फत आफ्नो जीवनको आरोह अवरोह र भोगाईलाई बाहिर ल्याएका हुन् ।

दमकमा शुक्रवार एक कार्यक्रमका बीच कृतिको अग्रज साहित्यकार डाक्टर तुलसी प्रसाद भटट्राईले लोकार्पण गरे । प्राध्यापक डाक्टर गोविन्द राज भट्टराई लगायतले पनि कृतिकार प्रसाईको जीवन यात्राको भोगाइका अनुभवहरु समाजका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरे । लोकापर्ण कार्यक्रममा लेखक प्रसाईले आफनो जीवन यात्राको भोगाईलाई जस्ताको त्यस्तै कृतिमा समावेश गरेको वताए । लामो समयसम्म शिक्षण पेशामा अवकास लिएका कृतिकार प्रसाईले सो कृति प्रकाशनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।
लेखक प्रसाइँकी धर्मपत्नी सुमित्रा प्रसाइँको अध्यक्षतामा भएको लोकार्पण कार्यक्रममा प्रसाइँका सुपुत्र प्रकाश प्रसाइँले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन साहित्यकार विवश बलिभद्र कोइरालाले गरेका थिए । कार्यक्रममा झापा र झापाबाहिरका समेत पुराना शैक्षिक, सामाजिक तथा साहित्यीक अभियान्ताहरुको उल्लेख्य सहभागिता थियो ।