शिवसताक्षी/ झापाको शिवसताक्षी नगरपालिका वडा नं १ धरमपुरमा सञ्चालित धरमपुर बचत तथा ऋण सहकारी संस्थाले १६ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
सो संस्थाले बुधबार शिवसताक्षी १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङको अध्यक्षतामा विभिन्न बिधामा संस्थाका उत्कृष्ट शेयर सदस्यहरु र एक जना पत्रकारलाई सम्मान गर्दै साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका सञ्चालक समिति अध्यक्ष कुमार शंकरको अध्यक्षतामा सञ्चालित सो साधारण सभामा पत्रकार अनिलदेव राई, शेयर सदस्यहरु भिमबहादुर थापा, फूलकुमारी चेम्जोङ , कुमारी लिम्बु, दिपक श्रेष्ठ, देवेन्द्र कुमार आङ्देम्बे र शान्ता खापुङ्गलाई सम्मान गरिएको हो ।
७ करोड ७८ लाख रुपैयाँ भन्दा बढी वासलात रहेको सो संस्थामा गत आर्थिक बर्ष २०८१/ ०८२ मा खुद बचत कूल १७ लाख ९१ हजार रुपैयाँ रहेको संस्थाका व्यवस्थापक विनोद ढकालले जानकारी दिनु भयो ।
कूल ४ सय ३२ जना शेयर सदस्य रहेको संस्थाको जगेडा कोषमा ८९ लाख ६७ हजार रुपैयाँ रहेको जनाइएको छ ।
साधारण सभामा वडा सदस्य नारायण प्रसाद रिजाल, संस्थाका संस्थापक अध्यक्ष सूर्यकिरण ढकाल, पूर्व अध्यक्ष दिपकुमार श्रेष्ठ लगायतको आतिथ्य रहेको थियो ।
साधारण सभामा संस्थाका उपाध्यक्ष चन्द्रकुमार खड्काले स्वागत मन्तव्य राख्नु भएको थियो भने साधारण सभाको संचालन संस्थाका सचिब नारदमणी रिमाल र ब्यवस्थापक बिनोद ढकालले गर्नु भएको थियो । संस्थामा हाल ५,५७,७१,३८२ बचत रहेको छ भने ७ करोड ७४ लाख रुपैयाँ ऋण लगानी रहेको जनाइएको छ ।
संस्थाले सदस्यहरुको मृत्यु संस्कारमा १० हजार देखि ३० हजार सम्म, क्यान्सर, मुटुको भल्भ फेर्न, मृगौला डायलसिस, श्ल्यक्रिया, पुर्ण पक्षघात उपचारको लागि १० हजार रुपैयाँ र दैबी प्रकोपमा १० हजार रुपैयाँ राहत प्रदान गर्दै आएको छ । त्यस्तै संस्थाले ८० बर्ष माथिका शेयर सदस्यहरुलाइ जेष्ठ भत्ता बार्षिक एक हजार रुपैयाँ एवं सुत्केरी तथा नवजात शिशु भेटघाट कार्यक्रम अन्तर्गत १० हजार रुपैयाँ प्रदान गर्दै आएको छ ।