दमक/ दमक ९ मा सञ्चालित समता कृषि सहकारी संस्थाले १४औं बार्षिक साधारणसभा सोमबार सम्पन्न गरेको छ ।
सहकारीका अध्यक्ष पर्शुराम रिजालको अध्यक्षतामा सम्पन्न साधारणसभामा बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै रिजालले वचत तथा कर्जाको कारोबारसंगै समता सहकारीले कृषि सहकारी भएको कारण कृषि सम्बन्धि कामहरु समेत गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले सहकारीले दमक ९ मै एक बिगाहा जमिनमा बेसार खेती र धान खेती गरिरहेको साथै ५ कट्ठा जमिनमा नगदे बालीको रुपमा साग सब्जी, भिण्डी लगायत तरकारी बालीको खेती गरिरहेको जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाले संस्थाबाट कर्जा लिने सदस्यको कर्जा बीमा समेत गरिदिँदै आएको र सदस्यका हितका लागि अन्य कार्यक्रम समेत सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
त्यसैगरी संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक लक्ष्मी नेपालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै यस्तो बिषम परिस्थितिमा समेत समता कृषि सहकारीले कर्जा जोखिम कोषमा रकम जम्मा गरेर पनि सदस्यहरुलाई थोरै भए पनि लाभांश वितरण गर्न सकेको जानकारी दिनुभयो ।
दमक ९ का वडाध्यक्ष कुबेर भट्टराईको प्रमुख आतिथ्यमा भएको साधारण सभाको उदघाटन कार्यक्रममा संस्थाकी उपाध्यक्ष शर्मिला भुर्तेलले स्वागत गर्नु भएको थियो । ब्यवस्थापक शान्तिराम भट्टराईले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रमुख अतिथि वडा अध्यक्ष कुवेर प्रसाद भट्टराई सहित शुभमंगल सहकारी संस्थाका अध्यक्ष तथा निम्स नेशनल अस्पतालका अध्यक्ष उमाकान्त आचार्यले शुभकामना मन्तव्य राख्नु भएको थियो ।