दमक/ राजनीतिक नेतृत्वको अदुरदर्शीताका कारण नागरिकमा फैलिएको असन्तुष्टिका कारण नेपालमा शान्ति नचाहने तत्वहरुले चलखेल गर्दै जेनजी आन्दोलनका नाममा सार्वजनिक सम्पत्तीमा क्षती पुरयाएको दमकमा आयोजित सर्वपक्षीय छलफलका सहभागीहरुले निष्कर्ष निकालेका छन् ।
दमक नगर उपप्रमुख रेगिना भट्टराईको अगुवाईमा आयोजित छलफलका सहभागीहरुले भौतिक बिकास भए पनि सार्वजनिक सेवा प्रवाह गर्ने राज्यका निकायहरुमा सुशासन नहुँदा नागरिकमा पैmलिएको आक्रोशमा बिदेशी शक्तिले खेल्ने मौका पाएको उनीहरुको भनाई छ । आम नेपाली नागरिकहरुबीच बृहत एकता नभए देशमा अझ ठुलो संकट आउने सक्ने जोखिम पनि उनीहरुले औंल्याएका छन् ।
मुलुकलाई निकास दिने राजनीतिक दलहरुलेनै हो भन्दै नागरिक समाजका अगुवाहरुले अहिलेको बिषम परिस्थितिमा एक अर्कालाई दोष देखाएर भन्दा पनि संबाद र सहकार्यको माध्यमबाट अघि बढनुपर्ने उनीहरुको भनाई छ ।
छलफलको अगुवाई गर्नुभएकी उपप्रमुख भट्टराईले आन्दोलनका आडमा ठुलो बिध्वंसमा परेर दमकमा अकल्पनीय क्षति भएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा यसको पुननिर्माणमा जुट्नु आवश्यकता भएको बताउनु भयो ।
छलफलमा नेपाली कांग्रेस कोशी प्रदेश समिति सदस्य चन्द्र खड्का भट्टराईले दलहरुले मुलुकको बिकास गरे पनि नागरिकले सुशासनको अनुभुती नगरेका कारण भदौ २३ गते आन्दोलन भएको बताउनु भयो ।
तर आन्दोलमा निर्दोष बालबालिकाको दुरुपयोग र सरकार पक्षबाट संयमताको कमी हुँदा मानवीय क्षती बढेको बताउनु भयो ।
कार्यक्रममा नेकपा एमाले कोशी कमिटी सदस्य अम्बिका खनालले लामो समयदेखि नेपालनै ध्वस्त बनाउने गरि बनाईएको योजना नागरिकको असन्तुष्टिमा घुसपैठ गराईएको बताउनु भयो ।
बिगतमा दलहरुलाई भोट दिने नागरिक समेत अहिले दलहरुको पक्षमा नरहेको भन्दै उहाँले राजनीतिक दलहरुमा समेत सुधारको आवश्यकता रहेको बताउनु भयो ।
नेकपा माओवादी केन्द्रका नेता गगन पुरीले भदौ २३ र २४ दुवै दिनका घटनालाई सुक्ष्मरुपमा केलाउनु आवश्यक रहेको बताउनु भयो ।
२३ गते निर्दोष बालबालिकामाथि गोली हानेर बर्बर हत्या भएकोले त्यसको निष्पक्ष छानबिन हुनै पर्ने भन्दै उहाँले २४ गते निजी र सरकारी सम्पत्ति ध्वस्त पार्नेहरुलाई समेत कानुनको दायरामा ल्याउनै पर्ने पुरीले बताउनु भयो ।
त्यसैगरी नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाका सभापति प्रकाश बुढाथोकी, दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोपाल गुरागाईं, नेपाली कांग्रेस नगर सभापति प्रकाश प्रसाईं, अखिल नेपाल महिला संघ झापा जिल्ला अध्यक्ष लीला ढुंगेल दाहाल, ईलाका प्रशासन कार्यालय दमकका प्रमुख, आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख, ईलाका प्रहरी कार्यालय दमकका प्रतिनिधि लगायतले त्यस किसिमको सर्वपक्षीय छलफलले सकारात्मक सन्देश दिने बताए ।