दमक/ दमक नगरपालिकाले नगरभित्र रहेका सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक तथा सदस्यहरुका लागि क्षमता विकास सम्बन्धीको एक दिने तालिम सञ्चालन गरेको छ ।
तालिमको दमक नगर प्रमुख राम थापाले उदघाटन गरे । उनले सहकारी संस्थामा रहेका पदाधिकारीहरु बित्तिय अनुुसासनमा बस्न नसके सहकारी समस्यामा पर्ने बताए । सञ्चालक समितिलाई समेत खबरदारी गर्ने लेखा सुपरिवेक्षण समिति भएकोले यसका संयोजक तथा पदाधिकारीहरु झन चनाखो बन्नु पर्ने उनको भनाई छ ।
कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराइ (प्रसाइँ)ले सहकारीले मुलुकको बिकासमा ठुलो योगदान गरेको उल्लेख गर्दै यो क्षेत्रलाई ब्यवस्थित बनाउन स्थानीय सरकार प्रयत्नशील रहेको बताइन् । महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउन पनि सहकारीको ठुलो भुमिका रहेकोले सहकारी क्षेत्र महिला सशक्तिकरणको सफल माध्यम भएको उनको भनाई छ ।
दमक नगरपालिका अन्तर्गतको सहकारी बोर्डका संयोजक पुण्य दाहालले सहकारी संस्थाको सञ्चालक समितिले गरेको निर्णयहरुमा समेत टिप्पणी गर्ने लेखा सुपरिवेक्षण समिति भएकोले यसका संयोजक तथा पदाधिकाहरु अझ जिम्मेवार बन्नु पर्ने बताए ।
कार्यक्रममा प्रशिक्षक मनोज कार्कीले सहकारी संघ संस्थाहरूलाई प्रभावकारी रुपमा सेवा प्रवाह गर्नका लागि लेखा सुपरिवेक्षण समितिले निरन्तर मार्गनिर्देश गर्ने विधि र औजारहरूको बारेमा छलफल तथा अन्तरक्रिया गराएका थिए ।
नगर भित्र सञ्चालित सहकारीहरुको लेखा सुपरिवेक्षण समितिलाई आवश्यक ज्ञान र सीप उपलव्ध गराउन तालिम सञ्चालन गरिएको दमक नगरपालिकाको सहकारी शाखा प्रमुख ईच्छाराम चौलागाईंले जानकारी दिए । निरीक्षण, अवलोकन, सोधपुछ, गणना, पुनगणना आदी विधिको प्रयोग गरी समितिले पेश गर्नुपर्ने प्रतिबेदन तयार गर्न समेत तालिममा सिकाइएको उनले बताए ।